दार्चुलाका विष्णु भट्ट यसरी पुगे जापानस्थित नेपाली स्कुल ‘एभरेस्ट इन्टरनेसनल’को नेतृत्वमा

-


     जनहित न्युज    
     माघ १२ गते २०८०


सुदूरपश्चिम प्रदेशको दार्चुलाको एक गाउँमा चार दशकअघि जन्मिएका विष्णु भट्ट कालो पाटीमा कमेरोलाई कलम बनाएर लेख्दै हुर्के । सानैदेखि पढाइमा उनको औधी रुचि थियो ।

विष्णुले कक्षा १० सम्मको अध्ययन स्थानीय स्कुलबाटै पूरा गरे, १२ सम्मको अध्ययन भारतको पिथौरागढ जिल्लाको झुलाघाटबाट गरे । त्यसपछि कञ्चनपुरमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै सिद्धनाथ विज्ञान क्याम्पसबाट बीएस्सी पूरा गरे र केही समय स्थानीय एक विद्यालयमा शिक्षण गरे । अध्ययन गर्ने उनको चाहना सकिएकै थिएन ।

केही समयपछि थप अध्ययनका निम्ति काठमाडौं प्रवेश गरे । २०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर पूरा गरे ।

अनि लिटिल एन्जल्स, त्रिचन्द्र क्याम्पसलगायतमा केही समय रसायनशास्त्र शिक्षकका रूपमा काम गरे । त्यतिबेला देशमा माओवादीको नेतृत्वमा १० वर्षे सशस्त्र युद्ध चलिरहेको थियो । देशको अप्ठ्यारो राजनीतिक अवस्था देखेर उनलाई अन्तर्राष्ट्रिय राजनीतिक विषयमा अध्ययन गर्ने सोच आयो ।

इन्टरनेसनल युनिभर्सिटी अफ जापानमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको अवसर पाएसँगै विष्णु जापान पुगे । उनी त्यहाँको प्रविधि तथा विकास देखेर छक्क परे । त्यहाँको प्रणालीमा अभ्यस्त हुन नै एक वर्षभन्दा बढी समय लागेको उनी सुनाउँछन् ।

अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तरको अध्ययन पूरा भएपछि नेपाल नै फर्केका उनले केही समय शिक्षणलगायत अन्य काम गरे । पूर्ण छात्रवृत्तिमै पब्लिक पोलिसी विषयको अध्ययनका लागि उनी फेरि जापानकै टोकियो युनिभर्सिटीमा पुगे । करिब ७ वर्षअघि उनी अध्ययनरत विश्वविद्यालयकै एक कार्यक्रममा विश्वभरका पोलिसी मेकरहरूको सम्मेलन भयो । कार्यक्रममा विश्वस्तरका पोलिसी मेकरहरूको कुरा सुनेपछि चाहे देशमा रहेर होस् वा बाहिर, देशका निम्ति केही त गर्नैपर्छ भन्ने सोच विष्णुमा आयो ।

त्यही बेला जापानमा रहेका केही अग्रज नेपालीहरूले प्रवासमा रहेका आफ्ना बालबालिकालाई नेपाली भाषा, संस्कृति, वेशभूषा कसरी सिकाउने भन्ने विषयमा लामो छलफल चलाएका थिए । छलफलपछि जापानमा नेपाली विद्यालय खोल्ने निचोड निकाले ।

सोही समूह र ‘जापानस्थित नेपाली दूतावासको पहलमा ‘एभरेस्ट इन्टरनेसनल स्कुल’को स्थापना भयो । तर, विद्यालयले राम्रो गति लिन सकेन । सन् २०१६ मा विष्णु पनि एभरेस्ट इन्टरनेसनल स्कुलसँग जोडिन पुगे । त्यसको तीन वर्षपछि उनले एभरेस्ट इन्टरनेसनल स्कुलको सहप्राध्यापकको जिम्मेवारी पाए । त्यसको करिब आठ महिनापश्चात् नै उनले प्राध्यापकको जिम्मेवारी पाएर काम गर्न थाले ।

विष्णुको अथक प्रयासका कारण दुई वर्षअघि एभरेस्ट इन्टरनेसनल स्कुलले जापान सरकारको शिक्षा मन्त्रालयबाट जापनिज हाइस्कुलसरहको अन्तर्राष्ट्रिय स्कुलको मान्यता प्राप्त गरेको छ ।

नर्सरीदेखि कक्षा १२ सम्मका कक्षाहरू सञ्चालन गरिरहेको एभरेस्ट इन्टरनेसनल स्कुलले नेपालको पाठ्यक्रम विकास केन्द्रले तोकेको पाठ्यक्रममा आधारित भएर अध्यापन गराउने गरेको छ । यस स्कुलले जापानमा छोटो समयमै जापानीलगायत अन्य विदेशी समुदायको समेत ध्यानाकर्षण गराउन सफल भएको छ ।

अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पूरा गर्न विद्यालयले पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, सवारीसाधन र अन्य धेरैको स्तरोन्नतिमा विशेष जोड दिएको विष्णु बताउँछन् । अपाङ्गता भएकाहरू, विशेष शैक्षिक आवश्यकताहरू र उनीहरूको सिकाइमा संलग्न भई सहयोग गर्न शिक्षण विधिहरूको उचित प्रयोग गर्न विशेष शिक्षकहरू पनि नियुक्त गरिएका छन् ।

उनका अनुसार विद्यालयले नेपालसँगै क्याम्ब्रिजबाट पनि सम्बन्धन लिएको छ । जापानबाट नै विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने गरेका छन् । ‘अघिल्लो वर्ष एभरेस्ट इन्टरनेसनल स्कुलबाट एसईईमा सहभागी विद्यार्थी यतिखेर जापानका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनरत छन्,’ प्रधानाध्यापक भट्ट भन्छन् ।

अध्यक्ष भवन भट्ट तथा सञ्चालक समितिकाे याेगदानका कारण छाेटाे समयमै विद्यालयले याे सफलता हासिल गरेकाे प्रधानाध्यापक भट्टकाे भनाइ छ । सञ्चालक समिति, नेपाली दूतावास र नेपाल सरकारकाे पनि ठूलाे याेगदान रहेकाे उनले बताए । 

भट्टका अनुसार नेपाल राष्ट्रिय परीक्षा बोर्डले एसईईका लागि दूतावासमार्फत एभरेस्ट इन्टरनेसनल स्कुलका लागि उत्तरपुस्तिका पठाउँछ । प्रश्नपत्र भने मेलबाट । उत्तरपुस्तिका परीक्षणका लागि दूतावासबाट नेपाल नै ल्याइन्छ । नतिजा नेपाल राष्ट्रिय परीक्षा बोर्डले नै सार्वजनिक गर्छ । अध्यापनका लागि विषय शिक्षकहरू नेपाल, भारत, अमेरिका, फिलिपिन्सलगायत मुलुकका छन् । 

हाल एभरेस्ट इन्टरनेसनल स्कुलमा ४५० जना विद्यार्थी अध्ययनरत छन् । अंग्रेजी माध्यममा पढाइ हुने यस विद्यालयमा नेपाली र जापनिज विषय पनि पढाइ हुने गरेको छ । स्कुलले जापानमा आफ्ना दुईवटा शाखा विस्तार गरेको छ ।

जापानमा आफ्नै पहिचान बनाएको एभरेस्ट इन्टरनेसनल स्कुललाई आगामी दिनमा अझ विकसित गर्ने र विश्वका अन्य देशका अझ धेरै विद्यार्थीहरूलाई आकर्षित गर्न क्याम्ब्रिज विश्वविद्यालय र नेपाली पाठ्यक्रमलाई समायोजन गरेर अगाडि बढ्ने सोच रहेको विष्णु बताउँछन् ।(इश्वरी लुईटेलले तयार पारेको सामग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?