चालु आर्थिक वर्षको १० महिनामा २१ अर्ब रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ। भन्सार विभाको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको बैशाख मशान्तसम्ममा कुल २१ अर्ब करोड ८३ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ।
दश महिनामा कुल ३० लाख १८ हजार ग्राम सुन नेपाल भित्रिएको छ। यसबाट सरकारले २ अर्ब ५ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएको छ।
गत वर्ष १३ अर्ब रुपैयाँ बराबरको मात्रै सुन आयात भएकोमा यस वर्ष सुनको आयात ह्वातै बढेको छ। यस अवधिमा सुनको आयात गत वर्षभन्दा ५७ प्रतिशतले बढेको भन्सार विभागको तथ्याङ्ले देखाउँछ।
गत आथिक वर्षको यसै अवधिमा कुल १३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो। यसबाट कुल १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ राजस्व उठेको थियो। सुनको आयात बढेसँगै सरकारको आम्दानी अर्थात राजस्व संकलनमा पनि बृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा नै सुन आयातको सीमा अझै बढाएको थियो। गत आर्थिक वर्षसम्म दैनिक १० किलो सुन मात्रै आयात गर्न पाउने व्यवस्था रहेकोमा केन्द्रिय बेैकले यस्तो सीमालाई बढाएर दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो। यसले पनि सुन आयात बढाउन सहयोग पुर्याएको देखिन्छ। व्यवसायीहरुले सुनको माग धान्न मुस्किल परेको भन्दै सुन आयातको कोटा बढाउन आग्रह गरेपछि केन्द्रिय बैंकले सुन आयात बढाएको हो।
- ५ अर्ब बढीको चाँदी आयात, गत वर्षभन्दा घट्यो
चालु आर्थिक बर्षको बैशाख मशान्तसममा ५ अर्ब भन्दा धेरैको चाँदी नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्याङ्कले अनुसार बैशाख अन्तिमसम्ममा कुल ५ अर्ब ६९ करोड ४८ लाख रुपैयाँको ५ करोड ६९ लाख ८६ हजार ग्राम चाँदी भित्रिएको हो। यसबाट सरकारले कुल ४८ करोड राजस्व उठाएको छ।
चाँदी भने गत वर्षको तुलनामा कम भित्रिएको छ। गत वर्षको यसै अवधिमा कुल ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको चाँदी भित्रिएकोमा यस वर्ष केही कम रकमको चाँदी नेपाल भित्रिएको हो।
- बैशाख महिनामा मात्रै १ अर्ब ७५ करोडको सुन र १ अर्ब ४४ करोडको चाँदी आयात
बैशाख महिनामा मात्रै १ अर्ब ७५ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। विभागका अनुसार चैतसम्ममा १९ अर्ब ३१ करोड ६ लाख रुपैयाँको सुन आयात भएकोमा बैशाखमा यस्तो आयात १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँले बढेको छ।
यसैगरी बैशाखमा चाँदीको आयात पनि उच्च देखिन्छ। बैशाख महिनामा मात्रै १ अर्ब ४४ करोड ३ लाख रुपैयाँको चाँदी नेपाल भित्रिएको तथ्याङ्कले देखाउँछ।
चैतसम्ममा ४ अर्ब २५ करोड ४५ लाखको चाँदी आयात भएकोमा बैशाखमा यस्तो रकम झण्डै साढे ५ अर्ब पुगेको छ।