मानव आश्रम बागलुको भवन निर्माणको लागि जैमिनी नगरपालिकाको ११ लाख सहयोग

-


     जनहित न्युज    
     फागुन १३ गते २०७८


मानव सेवा आश्रम बागलुङको भवन निमार्णको लागि जैमिनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ । एउटा कोठाको नाम जैमिनी नगरपालिकाकै रहने गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँमा आर्थिक सहयोगको प्राप्त भएको मानव सेवा आश्रम बागलुङ शाखाको अभिभावक निर्मल बहादुर श्रेष्ठले बताए ।

अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन बनिरहेको छ ।आश्रमको भवन निर्माणको लागि नगरपालिकाकै नाम रहने गरी हामीले एक कोठा निर्माण गर्न सहयोग गरेको जैमिनी नगरपालिकाका नगरप्रमुुख इन्द्र राज पौडेलले बताए ।

आश्रमले भवन निर्माणको लागि स्थानीय पालिका,संघ सस्थाहरुलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँमा एक कोठा निर्माण गर्ने र व्यक्तिले ५ लाख रुपैयाँमा कोठा निर्माण गर्ने पाउने भवन निर्माणको कार्यक्रम ल्याएको मानव सेवा आश्रम बागलुङ शाखाका अभिभावक शिव खड्काले नयाँ विश्वलाई बताए ।

भवन निर्माणको लागि आश्रमले आर्थिक, भौतिक सहयोग अभियान सुरु गरेको छ ।यसै गरी भवन निर्माणको लागि निसी गाउँपालिकाले एक लाख र गलकोट नगरपालिकाले १ लाख ५० हजार सहयोग गरेको छ ।

भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउन र आश्रमको लक्ष्य र उद्देश्य बारे मानव सेवा आश्रमको अध्यक्ष र परिकल्पनाकार रामजी अधिकारीको नेतृत्वमा बागलुङ,कुश्मा र म्याग्दी जिल्लाको स्थानीय पालिकाहरुको जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने क्रम जारी रहेको छ ।

उक्त अभियानमा मानव सेवा आश्रमको गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिनी, आश्रमका अभियन्ता निरज पटेल, सागर अधिकारी, सुमा रावल,मानव सेवा आश्रम बागलुङका अभिभावकहरु निर्मलबहादुर श्रेष्ठ,शिव खड्का,सुनीता श्रेष्ठ र बागलुङ शाखा संयोजक सुमिरा लामाको उपस्थिति रहेको थियो ।

आश्रमको भवन नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७३ लाखमा बी ब्लकको पहिलो तला ढलान भएको छ ।

यसका लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।आश्रमको भवन निर्माणका लागि आव २०७८ र ७९ का लागि गण्डकी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट १० लाख विनियोजन भएको छ ।आश्रमको भवन निर्माणको लागि विभिन्न क्षेत्रबाट आर्थिक तथा भौतिक सहयोग आउने क्रम जारी छ ।

आश्रममा जन्मदिन, वैवाहिक वर्षगाँठ, संघसंस्थाको स्थापना दिवस, परिवारका दिवंगत सदस्यको स्मृति तथा अन्य कार्यहरूमा आर्थिक तथा भौतिक सहयोग आउने गरेको छ ।

बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४९ जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका विपना तामाङले बताइन् ।

मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो ।बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडकआश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?