
बागलुङ-काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा (दमाहा) निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर जिकिर गरेको छ ।
कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा उक्त नगरालाई राखिनेछ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा दुई सय २२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ ।
सात फिट गोलाइ रहेको नगरलाई मोड्न १४ सय फिट छालाको तुना लागेको उहाँको भनाइ छ । स्थानीय कालिगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताउनुभयो ।
यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो । नगरा निर्माणका क्रममा कालिगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गर्नुभएको थियो ।
नगरा बनाउँदा कालिगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालिगढ रवीलालले बताउनुभयो । यतिठूलो नगरा बनाउन पाउँदा खुसीको अनुभव भएको उहाँले सुनाउनुभयो ।
कालिगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताउनुभयो । उहाँका अनुसार अर्को ठूलो नगरा काठमाडौँको हनुमानढोका परिसरमा छ । मल्लकालमा बनेको उक्त नगराको गोलाइ साढे छ फिट छ ।
अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर जिकिर गरिएको हो । नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ ।
“नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भन्नुभयो, “यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।” दशैँ, चैतेदशैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ ।
लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालु आवमा प्राप्त रु. दश लाख बजेटमध्येबाट रु. पाँच लाख नगरामा खर्च भएको छ । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ ।
संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु. ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ ।
हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ । यसअघि सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो । अक्षयकोषले बर्सेनि गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ ।
गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ । अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तण गरिने अध्यक्ष आश्रमले बताउनुभयो । अक्षयकोषको चल÷अचल गरी २० लाख बराबरको सम्पत्ति छ ।