सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ प्रक्रियामा रहँदा आफ्नी श्रीमतिको नाममा शेयर किनेर विवादमा आएका प्रमुख कार्यकारी अधिकृत सीईओ चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका हुन् ।
साउदलाई पछिल्लो समय अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको थियो। मन्त्रालयले उनलाई निलम्बन गरेर छानबिन गर्ने निर्णय गरेको थियो। साउदले नैतिकताका आधारमा आजकै दिनबाट लागू हुने गरी राजीनामा दिएको बताएका छन् ।
उनी पछिल्लो समय सर्वोत्तम सिमेन्टको सेयर खरिदबिक्री प्रकरणमा विवादित बनेका थिए। सेयरबजारको व्यवस्थापकीय निकाय नेप्सेको नेतृत्व गरिरहेका साउदको श्रीमतीले सेयर किनेपछि उनी विवादित बनेका थिए।
संघीय प्रतिनिधि सभाको अर्थ समितिले उनलाई कारबाही गर्नुपर्ने ठहर गरेको थियो। सेयर किनबेचमा विवादित बनेपछि अर्थ समितिमा सांसदहरुले उनको चर्को आलोचना गरेका थिए।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदबाट साउदले अनुसन्धानमा सहयोग पुर्याउन राजीनामा दिएको बताएका छन् ।
उनले नेप्सेको कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावलीले सूचीकृत नभएको कम्पनीको सेयर खरिद गर्न रोक नलगाएको दाबी गरेका छन् । त्यसबाहेक २०७३ भदौ १५ को सञ्चालक समितिको बैठकबाट स्वीकृत सञ्चालक आचार संहितामा नियमित दोश्रो बजारबाट बाहेक कुनै कम्पनीको संस्थापक शेयर खरिद गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था रहेको उल्लेख गरेका छन् ।
नेप्से धितोपत्रहरुको दोस्रो बजार कारोबारका लागि कारोबारस्थल उपलब्ध गराउने निकाय भएको हुँदा यसले नीति नियम तर्जुमा गर्ने नियमनकारी निकायको जस्तो भूमिका समेत निर्वाह नगर्ने हुँदा बजार मूल्यमा अनुचित प्रभाव पार्न नसक्ने उनको भनाइ छ ।