कान्साईमा ‘मन बदलौँ, जीवन बदलिन्छ’ अभियान: ध्यान र उत्प्रेरणाले जोडियो नेपाली मन

-


     जनहित न्युज    
     वैशाख १० गते २०८३


बिहुँकोट समाज जापान कान्साईको आयोजनामा ओसाकामा मानसिक स्वास्थ्य र ध्यान सम्बन्धी विशेष प्रेरणादायी कार्यक्रम हिजो भव्य रूपमा सम्पन्न भएको छ जसमा उल्लेख्य नेपालीको सहभागिता रहेको थियो।

‘आफ्नो अन्तरआत्मासँग जोडिँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्दै’ भन्ने मूल नाराका साथ ओसाकास्थित अबेनो सिमिन गाकुशु सेन्टरमा सञ्चालित उक्त कार्यक्रममा प्रसिद्ध मानसिक स्वास्थ्य प्रशिक्षक एवं उत्प्रेरक गिरी बहादुर सुनारले प्रशिक्षण दिनुभएको थियो।

बिहुँकोट समाज जापान कान्साईद्वारा आयोजित यस सत्रमा सुनारले विद्यार्थी जीवनमा आइपर्ने तनाव व्यवस्थापन, व्यावहारिक आत्मचिन्तन र निर्देशित ध्यानका माध्यमबाट कसरी जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई प्रयोगात्मक अभ्यास गराउनुभएको थियो। सहभागीहरूले “म को हुँ?” भन्ने आइसब्रेक गतिविधि र ऊर्जा सत्रमार्फत आफूलाई भित्री रूपमा चिन्ने अवसर प्राप्त गरेका थिए।

संस्थाका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा इन्दुलाल सुवेदीको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए कान्साईका संयोजक भीम श्रीस र समाजका महासचिव बल कँडेल क्षेत्री मुकेशले शुभकामना मन्तव्य राख्दै प्रवासको व्यस्त र सकसपूर्ण जीवनशैलीका बीच यस्ता आध्यात्मिक एवं प्रेरणादायी कार्यक्रमले नेपाली समुदायको मानसिक सबलीकरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अध्यक्ष न्यौपानेले स्वागत मन्तव्यमार्फत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव कृष्ण कँडेलले कुशलतापूर्वक गर्नुभएको थियो। वैदेशिक रोजगारी र अध्ययनका क्रममा जापानमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गराएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?