संघीयता संगै देशभर ७५३ स्थानीय तह बनेपछि कानुनी रूपमा काम गर्ने जनशक्तिको माग भएपछि जिल्लामा कानुन बिषयमा अध्यापन शुरू भएको छ ।कानुन बिषय संचालन भएपछि बागलुङ जिल्लामा यतिबेला बिद्यार्थीकाे आकर्षण बढेर गएको छ ।
देशमा कानून विषयमा जनशक्तिको अभाव बढ्दै गएपछि यसलाई पूर्ति गर्ने उद्देश्यका साथ गण्डकी प्रदेशको दाेस्राे ब्यापारी केन्द्र बागलुङमा कानुन तहको अध्ययन शुरू भएको छ ।जिल्लामै कानुन बिषय पढाइ हुन थालेपछि महिला आकर्षण बढेर गएको छ । बागलुङ सदरमुकाममा रहेकाे अमृत आदर्श माध्यमिक बिद्यालय कक्षा ११ र १२ मा कानून विषयको अध्ययनको शुरुवात गरेपछि कानुन बिषय पढ्नमा महिला बिद्यार्थीकाे आकर्षण बढेर गएको बिद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले बताए ।
द्वन्द्वकाे समयमा माआेवादी जन अदालतमा मुद्दाको छिनोफानो गर्ने अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष भबिकला घर्ती समेत यतिबेला कानुन बिषय लिएर पढिरहेकी छिन् । कानुन सबैले बुझ्नुपर्ने बिषय भएकोले पढ्न थालेको घर्तीले बताइन् । अहिले नेपालमा मात्र नभएर विश्वभर कानुनी विषयको स्कोप छ । यो बागलुङको लागि नयाँ पनि , धेरैले कानुनी विषयलाई बुझेका पनि छैनन् ।हामीले भबिस्य हेरेर कानुन बिषय पढ्न लागेको बताए ।
अहिले अदालत, कानून मन्त्रालयमा मात्रै नभई, संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय, प्रदेश र स्थानीय सरकारमा समेत कानूनका जनशक्ति पर्याप्त मात्रामा आवश्यकता पर्ने भएपछि विद्यार्थीको आकर्षण यसतर्फ बढेकोले कानुन विषयमा महिलाको आकर्षण बढेको कानुन बिषयका शिक्षक तथा अधिबक्ता राजु गाैतमले बताए ।
अहिले कानुन पढ्न जिल्लाका नगरपालिका र गाउँपालिकाबाट ३९ जना विद्यार्थीहरु अध्ययनरत छन् ।कक्षा ११ मा १२ जना बिद्यार्थी मध्य १० जना छात्रा १ जना छात्र छन् भने कक्षा १२ मा २७ जना बिद्यार्थी मध्य १८ जना छात्रा र ९ जना छात्र छन् । कक्षा ११ र १२ मा कानून अध्ययन गरेका विद्यार्थीले सिधै स्नातक तहमा कानून संकायमा अध्ययन गर्न पाउनेछन् भने अन्य संकायमा पनि सिधै अध्ययन गर्न पाउँछन् । कानून अध्ययन गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई विदेशमा समेत पर्याप्त मात्रामा अवसर रहेकाले यसतर्फ विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।