कविका रचनामा ‘भानु’ 

-


     जनहित न्युज    
     असार ३० गते २०७९


‘खुबै आनन्दमा हुन्छु
दुई–नौ असार आउँदा
श्रद्धाले शीर निहुरिन्छ
तिम्रा कीर्ति सुनाउँदा’

२०९औं भानु जयन्ती समारोहमा स्रष्टाहरूले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्तीअर्थात असार २९ लाई गौरवपूर्ण दिनका रूपमा लिए ।

‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताए । ‘भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ’, उनले भने ।

कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’ कविताको प्रसङ्ग जोड्दै ‘भानु र भ्रष्टचार’ कविता सुनाए ।

‘घुस्याहाहरू घुस माग्छन्
 मानौँ बिरामीले जुस मागेझैँ 
 लाग्छ घुस माग्नु 
 उनीहरूको संवैधानिक अधिकार हो’

कवि सापकोटाले घुस्याहा प्रवृत्तिमाथि व्यङ्ग गरे । आदिकवि भानुभक्तले कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्दाताका सरकारी अड्डामा जकडिएको ‘भोलिवाद’का विरूद्ध कविता लेखेका थिए । आदिकविलाई ‘ध्रुवतारा’को संज्ञा दिएर कवि गोविन्द सुवेदीले रचना सुनाए ।

‘भानु तिमी आदिकवि हौ
तर तिमी अन्त्यकवि होइनौ
किनकी तिम्रो अन्त्य कदापि हुन सक्दैन
तिमी अमर, अजर र अटल छौ
सदा चम्किरहने
ध्रुवतारा जस्तै’

सिर्जनाकामार्फत भानुभक्तको गुणगान गाउने लहरमा कवि कोपिला कँडेल पनि जोडिन आइपुगिन् । कवि कँडेलले आजको सामाजिक परिवेशमा पनि भानुभक्तका रचना उत्तिकै सान्दर्भिक रहेको धारणा राखिन् ।

‘कवितामा छन्द लिएर आउ
धर्म, संस्कृति र संस्कारको गन्ध लिएर आउ
जीवन र जगत्को मर्म बुझाउन आउ
कर्तव्य, आचरण र मानवीय कर्म सिकाउन आउ
भानु तिमी फेरि आउ’

बधुशिक्षामा विभेद झल्किएको भनेर आलोचना हुने गरेपनि आदिकविका अरू कृति अमूल्य रहेकामा कवि कँडेलले उल्लेख गरिन् । उनले आदिकवि भानुभक्तद्वारा भावानुवाद गरिएको रामायण दोहोर्याइ–तेर्याइ पढेको बताइन् । बुधबारको समारोहमा कँडेलले रामायणका केही श्लोकसमेत सुनाइन् ।

कवि सापकोटाले पहिलेपहिले घरघरमा रामायण राख्ने र वाचन गर्ने परम्परा रहेकामा अहिले त्यो हराउँदै गएको बताए । ‘अहिले भानु जयन्तीमा कतैकतै रामायण वाचनको प्रतियोगिता हुने गरेको सुनिन्छ, तर पहिलेझैँ घरमा रामायण पाठ गर्ने चलन लगभग हराइसक्यो’ , उनले भनिन् । 

कवि सापकोटाले भाषिक एकीकरणको श्रेय आदिकवि भानुभक्तलाई जाने उल्लेख गरे । हिन्दी र संस्कृत भाषाको दबदबा रहेका बेला बाल्मिकी रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आदिकविले महत्वपूर्ण योगदान दिएको उनकाे भनाइ छ ।

धवलागिरि साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय र नारी साहित्य समाजद्वारा आयोजित समारोहमा आदिकवि भानुभक्तमाथि वक्ताहरूले विचारसमेत राखेका थिए ।

साहित्यसेवी विश्वनाथ रेग्मीले भानुभक्तद्वारा रचित कविता शिक्षाप्रद र प्रेरणादायी भएको टिप्पणी गरे । उनले संस्कृत रामायणलाई नेपालीमा भावानुवाद गरेर आदिकविले भाषा, साहित्य र संस्कृतिप्रति सर्वसाधारणलाई अभिप्रेरित गरेको बताए । 

तनहुँको चुँदीरम्घा गाउँमा जन्मनुभएका आदिकवि गुरूशिक्षा लिने क्रममा बाग्लुङ नगरपालिका–३ मुल्पानीमा आएको रेग्मीले बताए । ‘भानुभक्त यहाँ आएर पण्डित बद्रीदत्त पन्तको गुरूकुल आश्रममा पढेको र गुरू दक्षिणास्वरूप तनहुँको खेत दिएको प्रमाणित हुने कागजात हामीसँग सुरक्षित छन्’ , उनले भने । 

धवलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले भानुभक्त नेपाली साहित्यका विशिष्ट प्रतिभा भएको बताए । नेपाली भाषा र साहित्यको उन्नयनमा आदिकविले पुर्‍याएको योगदानमाथि जति चर्चा गरे पनि कम हुन जाने उनकाे भनाइ छ ।

अध्यक्ष रोशनले वर्षौं अघिदेखि प्रतिष्ठानको अगुवाइमा भानु जयन्ती मनाउने थिति बसालिएको उल्लेख गरे । विद्यामन्दिर पुस्तकालयको प्रेक्षालयमा चलेको समारोहमा छोटो कविता सुनाएर अध्यक्ष रोशनले नै २०९औं भानु जयन्तीको मैजारो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?