जापान/ गलकोट समाज जापान क्षेत्रीय समिती नागोयाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणा कार्यका लागि पाँच लाख रुपैया आर्थिक सहयोग गरेको छ ।
क्षेत्रीय समिति नागोयाले रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्ने उदेश्यले “खेल नै जीवन हो, जीवन नै खेल हो” मुख्य नाराका साथ खुल्ला पुरुष दोस्रो रनिङ कप भलिवल प्रतियोगिता गरेको र त्यसबाट भएको नाफा रकम रंगशाला निर्माणका लागि गौतमबुद्ध अन्तर्राष्ट्रीय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनललाई प्रदान गरिएको समाजका अध्यक्ष रामुकाजी थापाले जानकारी दिनुभयो ।
सहयोग रकम एक कार्यक्रमका बिच गलकोट समाज जापानका केन्द्रीय कोषाध्यक्ष र सदस्यहरु डिला गैरे, चेतराम गैरे र डिलाराम न्युरेले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । सहयोग रकम ग्रहण गर्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले प्राप्त रकमलाई सही र व्यवस्थित रुपमा सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सोही कार्यक्रममा बोल्दै समाजका कोषाध्यक्ष गैरेले २००६ सालमा स्थापना भएको गलकोट समाज जापानले विभिन्न सामाजिक काम गर्दै आएको र यस कार्यमा पनि हातेमालो गर्न यो सहयोग रकम प्रदान गरिएको जानकारी दिनुभयो ।
विदेशमा रहेर खेलबाट भएको आम्दानी मातृभूमिमा खेल जगतमा नै सहयोग गर्न पाउदा खुसी छौ। – अध्यक्ष थापा
जापान सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्नका लागि बनाएका सबै नियमहरु पालना गर्दै उच्च सतर्कताका साथ भलिवल खेल सम्पन्न भएको र विदेशी भुमिमा रहेर पनि नेपालको राष्ट्रीय खेल भलिवल खेलप्रेमि नेपाली जनसमुदायलाई एकिकृत गर्न पाएकोमा खुसी लागेको क्षत्रीय समितिका सचिव राम खत्रीले बताउनुभयो ।
प्रतियोगितामा ११ टिमको सहभागिता रहेको प्रथम स्थानको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियोलाई ३० मान नगद सहित कप, मेडल र प्रमाणपत्र त्यसै गरि दोश्रो स्थानको उपाधि गुम्बा भलिवल गाइजलाई २० मान नगद कप, मेडल, प्रमाणपत्र र तृतीय स्थानको उपाधि गल्कोट समाज जापानलाई १० मान नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरेको खेल संयोजक मनोज केसि ले जानकारी दिनुभयो।