
बागलुङ-बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकले साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाइका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले बताए ।
बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको छ ।
बैठकले अत्यावश्यक खाद्यान्न,फलफूल, माछामासु तथा दूधका पसल आइतबार, बुधबार र शुक्रबार मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्न दिइने भएको छ ।
बागलुङ जिल्लामा काेराेना संक्रमणका ६३० जना भन्दा धेरै सक्रिय संक्रमित बिरामी रहेपनि खासै उच्च सतर्कता नअपनाएकाे कारण जिल्ला काेराेनाकाे उच्च जाेखिममा पुगेको देखिन्छ ।जिल्लामा काेराेना संक्रमण बढेर जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने समयमा बागलुङका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की घर बिदामा काठमाडौ पुगेका छन् ।गत हप्ता मात्रै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पाैडेल काठमाडौकाे सहायक प्रमुख जिल्ला अधिकारीमा सरूवा भएर गएपछि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी समेत खाली भएको अवस्थामा प्रजिअ कार्की बिदामा जानू अचम्मकाे बिषय बनेको छ ।