वीरजङ स्मृति भलिबल : गण्डकी प्रदेश र नेपाल पुलिस फाईनलमा

- बिजेताले ५ लाख पाउने

-


     घनश्याम गौतम    
     असाेज २१ गते २०८०


काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबले स्थान बनाएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै तीन भारतीय खेलाडी सम्मिलित धौलागिरी रेष्टुरेन्ट ओसाका जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधिको लागि प्रतिस्प्रर्धा गर्ने भएको हो ।

पहिलो सेमिफाईनलमा गण्डकीले पहिलो सेट २७–२९ ले गुमाए पनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्न सफल भयो। रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफ बिरुद्ध गण्डकीले दोस्रो सेट २५–२३ ले जित्दै खेललाई १–१ सेटको बराबरी गर्न सफल भयो ।

तेस्रो सेट पनि २५–१४ ले सहजै आफ्नो पक्षमा पार्दै गण्डकी जिततर्फ अग्रसर बनेको थियो । चौथो सेट ९–९ को बराबरीको अवस्थामा गण्डकीका ओपन स्पाईकर रवि केसीको प्रहार कोर्ट भित्र नै रहेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एपिएफका प्रशिक्षक महेश चौधरीले आफ्नो खेलाडीलाई कोर्ट बाहिर बोलाउनुभएको थियो ।

झन्डै ४० मिनेट बिबाद पछि सुरु हुँदा रेफ्री र आयोजक कमिटिसँगै भिडियोको सहायतामा एपिएफ खेल्न राजी बनेको थियो । उक्त सेटमा गण्डकीले २६–२४ को जित निकाल्न सफल भयो ।

त्यस्तै दोस्रो सेमिफाईनलमा विभागीय नेपाल पुलिस क्लबले पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पार्न सफल भयो । तीन भारतीय खेलाडी सम्मिलित ओसाका जापानले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन ।

दोस्रो सेट पुलिसले सहजै २५–१६ ले जित्न सफल भयो । प्रतिस्पर्धात्मक तेस्रो सेट पनि पुलिसले २५–२२ आफ्नो पक्षमा पार्दै जित निकाल्न सफल भयो । सोमबारै तेस्रो स्थानको लागि एपिएफ र ओसाका जापानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?