
नेपालमा लोपोन्मुख चेपाङ जातिको संरक्षण, उत्थान र सहयोगमा योगदान पुर्याएका जापानलाई कर्म थलो बनाएर कार्यरत चितवनका दिपकबाबु नेपाल सहित विभिन्न व्यक्ति व्यक्तित्वहरूलाई गाँमवेशी चेपाङ संरक्षण केन्द्रले सम्मान गरेको छ ।
जापानमा रहेर सो जातीको संरक्षण र शिक्षा क्षेत्रमा सहयोग पुर्याउनका लागि विभिन्न अभियान संचालन गरि विद्यालय भवन निर्माण,चेपाङ संरक्षण केन्द्रमा भवन निर्माण, विपन्न परिवारका बालबालिकालाई अध्ययनका लागि आर्थिक सहयोग स्वास्थ्य सुधारमा आवश्यक पुर्याउदै आएका नेपालसहित केन्द्रले हेल्प संस्थाका कार्यकारी निर्देशक मिलन ढकाल, जापानमा बसोबास गर्दै आएका रत्ननगर डुम्री चोकका दिपकबाबु नेपाल, साइराम डेण्टल क्लिनिकका संचालक डा. अजय न्यौपाने र डा. सरु थापा न्यौपाने, संरक्षणकर्मी रामकुमार अर्याल, रोटरी क्लब अफ नारायणगढका पूर्वअध्यक्ष विज्ञानलाल श्रेष्ठलाई चेपाङको सारथीको रुपमा सम्मान गरेको हो ।

विकट बस्तीमा पुगेर सहयोग गरेको भन्दै सम्मान गरिएको केन्द्रले कार्यक्रममा संचारकर्मी अखण्ड भण्डारीले सामाजिक सेवाको कर्म गरेर धर्म गरेको भन्दै धन्यवाद दिए । ‘समाजिक सेवा भनेको धर्म हो । यही धर्मले देश बनाउँछ,’ उनले भने, ‘आफ्नाको लागि मात्रै नभई अरुको लागि समर्पित हुनेको जीवन नै सार्थक हो ।’
ढकालले नेपाल हेल्पको तर्फबाट चेपाङ बस्तीमा झण्डै करोड बराबरको राहत वितरण गरेका थिए । संरक्षण केन्द्रमा छात्रहरुको लागि आवास निर्माण गरेका छन् ।
त्यस्तै डा. न्यौपाने दम्पतीले विकटको चेपाङ बस्तीमा पुगेर धेरै पटक स्वास्थ्य शिविर र राहत सहयोग गरेका थिए । संरक्षणकर्मी अर्यालले विपतको बेला राहत वितरणका लागि अभियान गरेका थिए । रोटरियन श्रेष्ठले चेपाङको क्षेत्रमा विभिन्न समयमा सहयोगका लागि समन्वय गर्दै आएका छन् ।
केन्द्रलाई सहयोग गर्ने वबी एन्टोनी र फ्रान्समा रहँदै आएका ददी सापकोटालाई पनि सम्मान गरेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए । ‘गरिबीको पीडामा उहाँहरुको सहयोगले मलहम लगाएको छ,’ उनले भने, ‘विकट बस्तीको मुहारमा खुसी ल्याएको छ । चेपाङको तर्फबाट सम्मान गरिएको हो । ’



