
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करकाे दर हेरफेर गरेको आरोप लागेसँगै विवादमा रहेका अर्थमन्त्रीमाथि राजीनामा दिन ठूलो दबाब रहँदै आएको थियो ।
त्यसमाथि पछिल्लो समय अर्थमन्त्रालयको सीसीटीभीफुटेज मेटाएको विषयलाई लिएर पनि उनी विवादमा तानिएका थिए । यससँगै उनलाई राजीनामा दिन विपक्षी नेकपा एमाले तथा सत्तारुढ गठबन्धनकै केही नेताहरूले समेत आग्रह गर्दै आएका थिए ।
संसदीय छानबिन समिति गठन
प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबिन गर्न संसदीय छानविन समिति गठन गरेको छ ।
उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए । समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य छन् । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ ।
समितिलाई १० दिनको कार्यावधि दिइएको छ । समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो ।
करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरूपमाकुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराए । त्यसअघि प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक ढिला गरी सुरु भएको हो ।



