राष्ट्रिय झण्डा सहित पर्यटन क्षेत्रको प्रचार, हिउँमा रमाउदै पर्यटक 

-


     घनश्याम गौतम    
     माघ २४ गते २०७८


सामाजिक संजालहरु टिकटक र फेसवुकमा नेपालको झण्डा र झोला सहित हिउँमा हिडेको तस्वीर अधिकाशं आन्तरिक पर्यटकले समाजिक संजालमा पोष्ट गरेपछि एकाएक चर्चामा आए। ति सबै समाजिक संजालको पोष्टमा गरिएको प्रतिक्रिया हो, आहा कति सुन्दर, यो ठाँउ कहाँ होला ? त्यो ठाँउ हो कालिलेक ।

बिहिवार देखी अविरल बर्ष संगैं हिमपात भएपछि गलकोटका अधिकासं पहाडहरु हिउँले सेताम्मे भएका थिए शुक्रबार भने निरन्तर बर्षा भएकोले हिउँ खेल्न जानेहरुले योजना बनाउन सुरु गरे ।

कतिपयले गलकोट सहित देशका बिभिन्न ठाँउमा हिउँ खेलेको फोटो तथा भिडियो सामाजिक संजालमा पोष्टाउदैं बिभिन्न ठाँउको जानकारी दिएको देख्नुभएका गलकोट नगरपालिका ६ का स्थानीय युवा जय बुढाथोकीले कालिलेकको प्रचार गर्न हिउँ खेल्ने गरि कालिलेक जाने योजना बताए ।

हिउँका कारण सबै मानिसहरु उच्च पहाडमा जान थालेपछि बुढाथोकीले शनिबार विहान ११ बजे कालिलेक जाने तयारी गदैं उहाँले नजिकका साथी भाईलाई खबर गरे । उनको योजनालाई साथ दिदैं आफ्नो गाँउको प्रचार प्रसार तथा अवलोकनको लागी ६२ बर्षिय ददिराम गौतमले साथ दिदै सबै जना कालिलेक जान उत्प्रेरित गरे ।

शनिबार बिहान सम्मको बर्षाले कालिलेक जान कठिन देखेको गलकोट नगरपालिका वडा नम्वर ६ का स्थानीयले बिहान ११ बजे कालिलेक यात्रा तय गरेको स्थानीय कर्ण बहादुर खत्रीको भनाई छ ।

रातभर तथा बिहान सम्म बर्षा हुदाँ जान नसकिने पो होकी भन्ने आशंका थियो, बिहानबाट पानी पर्न रोकियो खत्रीले भने, कालिलेक जान मौषमले साथ दिएकोले यात्रा अविस्मरणीय भयो ।

बिहान ११ वजे करिब १ दर्जन बढि स्थानीय गलकोट नगरपालिका ६ को चरौदीँबाट नेपालको राष्ट्रिय झण्डा लिएर यात्रा आरम्भ गरेका थिए ।कायसमा पुग्दा हिउँ बनभरी, घरको छानामा समेत प्रशस्तै देखीन्थ्यो, यात्रा रमाईलो संग अघि बढ्यो ।

कालिलेक चढ्ने क्रममा कायस, बाख्रे, भुजुङ्गे तथा माझखर्क र बयलिका स्थानीय समेत थपिदै गए । हिउँको यात्रामा कायसबाट प्रवेश गरेको समुहलाई चुचुल्केबाट हिउँ सोर्दै हिड्नुपर्ने अबस्था आएको स्थानीय फव बहादुर रोका मगर बताउछन ।

माथी जादाँ हिउँको मात्रा समेत बाक्लो थियो, हिउँमा हिड्दा चिप्लने र लोट्ने जोखिम उत्तीकै बढि थियो । करिब सवा १ बजे कालिलेको कामना मन्दिरमा उक्त टोली पुग्यो । जोखीमपुर्ण यात्रा गरेर कालिलेक पुगेपछि यात्राका सबै पिडाहरु भुलेको अनिल पाण्डे बताए ।

कामना मन्दिर रहेको भुभागमा रहेको सेताम्मे हिउँमा अधिकाशं मानिसहरु एक आपसमा खेलीरहेको दृश्य, हरेक रुखमा रहेका हिउँ र समय समयमा पहिरो जस्तै रुखबाट हिउँ खसेको त्यो प्राकृतिक सुन्दरताले सबै जोखीम भुलाएको पाण्डेको भनाई छ ।

कालिलेकको सबै भुभाग हिउँले छोपीएर सेताम्मे बनेकोले हिउँ खेल्नेहरुले बेग्लै आनन्द लिएका थिए । ताराखोला गाँउपालिकाका जनप्रतिनिधी सहितको टोलीले कामना मन्दिरको दर्शन गरि फोटो खिचीरहदाँ टिकटक बनाउनेहरुको भिड पनि उस्तै देखीन्थ्यो ।

हिउँ पर्यो फुरुरु, हिउँ परेर पानी भो, जोवन यसै जाने भो, जस्ता हिउँ शव्द समाबेश भएका गीतहरु मोवाईलमा बजाएर अधिकाशं युवायुवतीले टिकटक बनाईरहेका थिए ।
त्यतिकैमा एकाएक स्पीकरमा पञ्चेवाजाको गीत बजेपछि सबै जना नाच्न थाले ।

निकै बेर नाचेपछि हिँउमा फोटो खिच्दै कालिलेकका सबै भुभागमा आन्तरिक पर्यटक घुमफिर गरे । पर्यटकले हिँउ संगैं कालिलेकमा रहेका कामना मन्दिर,गैरा तथा कालिपोखरी साथमा त्यहाँबाट देखिने भुभागलाई पृष्टभुमीमा राखेर फोटो सेसन गरेका थिए । कालिपोखरीको नामले चिनिएको पोखरी हिँउले भरिएर सेताम्मे भएको त्यो दृश्यलाई समेत अधिकाशंले रुचिका साथ अवलोकन गरेका थिए ।

पर्यटकीय क्षेत्रको प्रचार गर्न आन्तरीक पर्यटकको भुमिका महत्वपूर्ण रहने ताराखोला गाँउपालिका वडा नम्वर १ का वडा अध्यक्ष याम श्रीसले बताए । हामीले जुनसुकै समयमा आफ्ना गन्तब्यहरुमा आउने, ति क्षेत्रको प्राकृतिक, सास्कृतिक तथा भौतिक अवस्थाबारे जानकारी लिएर सामाजिक संजालहरुमा राख्दा प्रचार हुन्छ, अध्यक्ष श्रीसले भने, पर्यटकको आर्कषण तथा पर्यटकिय गन्तब्यको बिकास गर्न आम मानिसलाई ति क्षेत्रको बारेमा जानकारी दिनुपर्ने आवश्यकता रहेको उँहाले बताए ।

कालिलेकमा हिउँ खेल्न गएका पर्यटकलाई कालिलेकको प्राकृतिक सुन्दरता मन परेको आफ्ना फोटोहरु तथा भिडियोहरु सामाजिक संजालमा राख्दा उल्लेख गरेका छन् । कालिलेकमा मात्रै नभएर आफ्नो क्षेत्रमा रहेका हरेक सम्भावित गन्तब्यको प्रचार गर्न स्थानीयको सहभागिता बढि हुनुपर्ने यात्राका योजनाकार जय बुढाथोकीको भनाई छ ।

स्थानीयको सहभागितामा पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा बिकास गर्न सकेमा मात्रै पर्यटकको आकर्षण बढ्ने बुढाथोकीको तर्क छ ।गलकोट नगरपालिका वडा नम्वर ६, वडा नम्वर २ तथा ताराखोला गाँउपालिका वडा नम्वर १ को संगम स्थलमा रहेको कालिलेक करिब २ हजार ४ सय ५० मिटरको उचाईमा अवस्थीत छ । यो सामाग्री गत माघ २० गते देखी निरन्तर गलकोट उच्च पहाडि क्षेत्रमा हिमपात भएपछिको स्थानीय तथा आन्तरिक पर्यटकको यात्रा सस्मरणमा आधारित छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?