नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ ।
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा छलफललाई निरन्तरता दिने निर्णय गरेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए ।
बैठकले एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने समझदारी गरेको छ । हालै एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई बैठकले एकताविरोधी भएको ठहर गरेको छ । ओलीले नेपाललाई आन्दोलनविरोधी र देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष ओली पक्षले एकतर्फी रूपमा पार्टी बैठक राखेर निर्णय गर्नु एकता विरोधी भएकाले यस्ता कार्य बन्द गर्नुपर्ने निष्कर्ष समेत बैठकले निकालेको ज्ञवालीले बताए ।