झापामा बजेटको ओइरो

- गृह जिल्ला केन्द्रित बजेट बनाउने ५ नेता

-


     जनहित न्युज    
     जेठ १८ गते २०७८


बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट आफ्ना क्षेत्र बिशेषलाई केन्द्रित गरि ल्याएको खुलेको छ । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि आपु केन्द्रीत बजेट ल्याउने रस्साकस्सीमा ५ नेता सफल भएका छन् ।
सरकारले चुनावलाई हेरेर लोक रिझाउने बजेट मात्र ल्याएन, प्रधानमन्त्री र उनी निकट नेताहरुको गृह जिल्लाले बजेटमा राम्रै स्थान पाएको छ । पहुँच भएकाहरुको भागमा बजेटको बढी परेको देखिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले गृहजिल्ला हो रुपन्देही, अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्षको बजेटमा रुपन्देहीका लागि दर्जनौं कार्यक्रम समावेश छ । रुपन्देहीमा पनि बढीजसो बजेट बुटवल उपमहानगरपालिकामा केन्द्रित छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाले पनि अघिल्ला वर्षहरुमा झैं यो वर्ष पनि राम्रै बजेट पाएको छ । दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्कसम्मका योजना बजेटमा समावेश छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकालाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने, रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारी साधन अट्ने पार्किङ यार्ड बनाउने, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जीतगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ–दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ ।
भारतको सिलिगुडीदेखि मेचीनगरको चारआलीसम्म पेट्रोलियम पाइपलाइनका लागि पनि बजेट विनियोजन गरिको छ । सिंचाइ सुविधा विस्तार गर्न स्यालो ट्युबवेल र डिप ट्युबवेल जडान गर्ने योजनामा झापा पनि समेटिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ हो । त्यहाँ विमानस्थल सञ्चालनमा ल्याउने, लक्ष्मीपुरमा औद्योगिक क्षेत्र र लमहीमा क्रिकेट मैदान बनाउने योजना बजेटमा छ । बृहत दाङ उपत्यका सिंचाइ आयोजनाका लागि बजेट दिइएको छ भने तुल्सीपुरलाई स्मार्ट सिटी बनाउन बजेट छुट्याएको छ । दाङको नारायणपुरमा विमानस्थल निर्माण प्रारम्भ गर्न, भालुबाङदेखि सिक्टासम्म जल यातायातको सम्भाव्यता अध्ययन गर्न, प्रगन्ना र बड्कापथ सिंचाइ आयोजना निर्माण गर्न र बृहत दाङ उपत्यकाका लागि पनि बजेट छुट्टयाइएको छ । दाङका स्थानीय सरकारलाई विभिन्न अनुदान शीर्षकअन्तर्गत चार अर्ब ५६ करोड सात लाख रुपैयाँ छुट्याइँदा सबैभन्दा बढी घोराही पमहानगरपालिकाले पाएको छ ।
लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने र अन्तर्राष्ट्रिय स्तरका योजनाविदद्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत् लुम्बिनी विकास गुरुयोजना तयार गर्न १ अर्ब ५० करोड विनियोजन भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाउने योजना पनि घोषणा भएको छ ।
प्रधानमन्त्री निकट एमाले नेताद्वय गोकुल बास्कोटाको जिल्ला काभ्रे र महेश बस्नेतको जिल्ला भक्तपुरले पनि बजेटमा राम्रै स्थान पाएको देखिन्छ ।
बजेटले भुक्तपुरको चाँगुनारायाण नगरपालिकाको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा सञ्चालन गर्न सुविधासम्पन्न अस्पताल निर्माण गर्ने घोषणा दोहो¥याएको छ ।
‘तीन वर्षभित्र निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन लगायत पूर्वतयारी कार्यसम्पन्न गरिनेछ । भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन एकैसाथ पूरा गरी अस्पताल सञ्चालनमा ल्याइनेछ’ बजेटमा भनिएको छ ।
एकीकृत जग्गा विकास कार्यक्रमका लागि पनि भक्तपुर रोजिएको छ । चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमी तथा काठमाडौंको शंखरापुर र कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका चार ठाउँमा विदेशी लगानी समेत आकर्षित गरी सार्वजनिक निजी साझेदारीमा नयाँ शहर निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।
काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली सुधार गरेर भक्तपुरमा वितरण प्रभावकारी बनाउने योजना पनि बजेटमा छ । त्यसका लागि पाइपलाइन विस्तार गर्न रु.४ अर्ब ७९ करोड विनियोजन भएको छ । भक्तपुरको ताथलीबाट छाप हुँदै काभ्रेको रविओपी सुरुङ्गमार्गको सम्भाव्यता अध्ययन र जिल्ला अदालत भवन निर्माणको लागि पनि बजेट छुट्याइएको छ । काभ्रेपलाञ्चोकको पाँचखालमा विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको डीपीआर बनाउन १ अर्ब ५५ करोड विनियोजन भएको छ । तिमालमा लिफ्ट खानेपानी र काभ्रे उपत्यका स्मार्ट सिटी आयोजनाले पनि बजेट पाएको छ ।
बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गर्ने घोषणा बजेटले गरेको छ । त्यस्तै, काभ्रेमा व्यवसायिक कागती खेती विस्तार गर्न पनि बजेट दिइएको छ । अरनिको राजमार्गको धुलिखेल–दोलालघाट–कोदारी खण्ड स्तरोन्नती तथा विस्तार गर्न १ अर्ब १३ करोड बजेट व्यवस्था गरिएको छ । त्यस्तै पाँचखाल, धुलिखेल, बनेपा, पनौती, मानचौर लगायत क्षेत्रमा शहरी पूर्वाधार विकास गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?