तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले नेपाललाई पहिलो ओलिम्पिक पदक दिलाउन सक्ने आशा प्रशिक्षकहरूले गरेका छन्।
ओलिम्पिक्समा खेलेको ५७ वर्ष लामो इतिहास होस् वा १० वर्षअगाडि देखि खेल्न थालेको पारा-ओलिम्पिक्समा नेपालले अझै अहिलेसम्म ओलिम्पिक खेलबाट पदक प्राप्त गर्न सकेको छैन।
यसपालि पारा-तेक्वान्दो खेलाडी पलेशाबाट नेपाली पक्षले ठूलो आशा राखेको छ।
पलेशा दुईवटा विश्व पारा-तेक्वान्दो च्याम्पियनशिप र तीनवटा एशियन पारा-तेक्वान्दो च्याम्पियनशिपमा प्रतिस्पर्धा गरिसकेकी अनुभवी खेलाडी हुन्।
दुई वर्षअगाडि भियतनाममा भएको एशियन पारा-च्याम्पियनशिपमा उनले कांस्य पदक जितेकी थिइन्।
पलेशाले यही भदौ १८ गते के ४४ विधाअन्तर्गत ५८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्।
के ४४ भनेको “एउटा हातको कुहिना भन्दा तलको भाग नहुने” खेलाडीको विधा हो।
टोकियोमा पलेशालाई प्रशिक्षण दिइरहेका तेक्वान्दो प्रशिक्षक दीपक विष्ट भन्छन्, “पलेशामा प्रतिभा त छ नै, उनको आत्मविश्वास अझ दरिलो छ। प्रतिद्वन्द्वीहरू पनि उनका लागि नौला होइनन्। त्यसैले उनी पदकको दाबेदारीको सूचीमा अगाडि छिन्।”
पारा-ओलिम्पिक्स भनेको अपाङ्गता भएका खेलाडीहरूले खेल्ने प्रतियोगिता हो।
आत्मविश्वास
‘वाइल्ड कार्ड’ प्रवेशमार्फत् ओलिम्पिक्समा छानिनु पलेशाको लागि भाग्यको खेलजस्तै थियो।
तर अब उद्घाटन समारोहमा नेपालको झण्डा बोकेर उनले पारालिम्पिक यात्रा अगाडि बढाइसकेकी छन्।
उनको अबको लक्ष्य पदक जित्नु हो।
टोकियोबाट बीबीसीसँग उनले भनिन्, ” पहिलो लक्ष्य ओलिम्पिक सहभागिता थियो। अबको लक्ष्य ओलिम्पिकमा पदक जित्नु हो। सपना जहिले ठूलो देख्नुपर्छ। मेरो प्रयास स्वर्णको लागि हुनेछ।”
पलेशाको राम्रो पक्ष भनेको उनको अनुभव, उचाइ र आत्मविश्वास रहेको प्रशिक्षक बिष्ट बताउँछन्।
दुई वर्षअगाडि भियतनाममा भएको एशियन च्याम्पियनसिपमा कांस्य जितेर उनले आफूलाई प्रमाणित पनि गरिसकेकी छन्।
गत महिना जापानमा नै भएको ‘पारालिम्पिक रिहर्सल’ खेलमा पनि उनले राम्रो खेलेकी थिइन्।
जापानको एक साताको बसाइमा उनले राम्रो प्रशिक्षण पाएको उनका प्रशिक्षक कविराज नेगी बताउँछन्।
उनले भने, ” पलेशाको प्रशिक्षण यहाँ झन् राम्रो भएको छ। प्रतिस्पर्धा गर्ने ठाउँमा नै अभ्यास गर्ने मौका मिलेको छ। प्रशिक्षणको सुविधा सबै प्राप्त भएको छ। त्यसैले पलेशाले झन् राम्रो गर्ने आशा छ।”
प्रतिद्वन्द्वी
पलेशाको विधामा ११ जना खेलाडीहरू मात्र प्रतिस्पर्धामा छन्।
अमेरिका, ब्राजिल, टर्की र डेनमार्कका गरी चार खेलाडीहरू बाई पाएर सोझै क्वार्टरफाइनलमा पुगेका छन्।
मङ्गलवार गरिएको ‘टाईशीट ड्र’ अनुसार पलेशाले पहिलो चरणमा ब्रिटेनकी खेलाडी मुनरो बेथसँग प्रतिस्पर्धा गर्नेछिन्।
युरोपेली क्षेत्रबाट छनोट भएर आएकी मुनरो विश्व वरीयतामा २४ औँ स्थानमा छिन्। पलेशा विगतमा १३ औँ वरीयतामा थिइन्।
तर कोभिड-१९ महामारीका कारण पलेशाले जोर्डनमा भएको पारालिम्पिक छनोट खेल्न नपाएकोले वरीयता घटेको हो।
तुलना गर्दा छनोट चरण पार गरेर ओलिम्पिक्समा पुगेकी र वरीयतामा पनि राम्रो भएकोले मुनरो पलेशाभन्दा प्रभावशाली देखिन्छिन्।
त्यसैगरी पलेशा १८ वर्षकी हुन् भने मुनरो २७ की भइन्।
तर पलेशा यसले खेलमा केही फरक नपर्ने बताउँछिन्।
उनी भन्छिन्, “टाईशीट ड्र मा ज्याकपट लाग्छ भन्ने आशामा हामी यहाँ आएका होइनौँ। प्रतिद्वन्द्वीलाई जित्ने हो। त्यति मात्रै मैले बुझेको छु।”
को हुन् पलेशा?
पलेशा छोटो समयमा एकाएक पारा तेक्वान्दोमा तीव्र गतिमा उदाएकी खेलाडी हुन्।
पलेशाको बायाँ हातको कुहिनामुनिको भाग छैन। उनी यसरी नै जन्मिएकी हुन्।
बागबजार स्थायी ठेगाना भएकी उनले डीएभी सुशील केडिया स्कूलमा पढिन्।
त्यहाँ कक्षामा पाँचमा पढ्दै गर्दा लहलहैमा वैकल्पिक विषयअन्तर्गत उनले तेक्वान्दो खेल रोजिन्। त्यो उनको रहर मात्रै थियो।
तर उनले तेक्वान्दोमा चाँडै नै प्रगति गरिन्, स्कूलमा उनको खेलको प्रशंसा हुन थाल्यो।
त्यसबाट उत्साहित बुबा प्रदीप गोवर्धनले छोरीलाई ‘काठमाण्डू तेक्वान्दो डोजाङ’ मा भर्ना गरिदिए।
छोरीलाई सानैदेखि नै खेलकुद मन पर्ने हुनाले छोरीको इच्छा पूरा गरिदिने मात्रै बुबाको उद्देश्य थियो।
तर डोजाङमा प्रशिक्षण लिने क्रममा ‘पारा-खेलाडी’ हरूको पनि बेग्लै खेलकुद हुन्छ भन्ने उनीहरूले थाहा पाए।
उनको परिवार झन् उत्साहित हुन थाल्यो। त्यसपछि डोजाङका प्रशिक्षक किशोर कुँवरले पलेशालाई त्रिपुरेश्वर रङ्गशालामा पुर्याए।
त्यहाँ प्रशिक्षक कल्याण कुँवरको प्रशिक्षणमा पलेशा सिक्न थालिन्।
छोरीको बढेको सपनालाई पूरा गर्ने काम भने बुबा प्रदीपले गरे।
छोरीलाई हरेक दिन रङ्गशाला ल्याउने पुर्याउने, स्कूलको समय मिलाउनेदेखि घरको कुरा मिलाउने काममा बुबाले वर्षौँसम्म छोरीको साथ दिए।
बुबा प्रदीप भन्छन्, “सबैले छोरीको ‘खेल राम्रो छ, उसले प्रगति गर्छे’ भन्थे। हामी त्यसैमा खुसी हुन्थ्यौँ। त्योभन्दा पनि छोरीको खुसी हामीलाई महत्त्वपूर्ण थियो।”
दुई वर्षपछि नै पलेशाले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा दक्षिण कोरियामा एशियन पारा-तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिन्।
त्यसपछि उनले लगातार तीन एशियन च्याम्पियनशिप र दुई विश्व च्याम्पियनशिप खेलिसकेकी छन्।
ओलिम्पिक्स पलेशाले पाएको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।
बुबा प्रदीप भन्छन्, ” यहाँसम्म पुग्छिन् भनेर सोचेका पनि थिएनौँ। निकै खुसी लागेको छ।”
पलेशालाई आफ्नो हात नभएकोमा कुनै गुनासो छैन।
उनी त आमाले भनेको शब्द सधैँ मनमा राखेको र त्यसैलाई मन्त्र मानेको बताउँछिन्।
“आमाले भन्नुहुन्छ – तिमी जुन परिचय लिएर जन्मियौ। त्यही परिचयबाट चम्किनुपर्छ,” उनी भन्छिन्।
त्यही परिचयमा चम्किने क्रममा पलेशा अहिले टोकियोमा पारालिम्पिकमा जीवनको ठूलो परीक्षा दिँदैछिन्।
सन्ताउन्न वर्ष लामो ओलिम्पिक सहभागिताको इतिहासमा नेपालले हिउँदे ओलिम्पिक्स, ग्रीष्मकालीन ओलिम्पिक्स, पारा-ओलिम्पिक र स्पेशल ओलिम्पिक्समा सहभागिता जनाउँदै आएको छ।
तर तेक्वान्दोका विधान लामाले ग्रीष्मकालीन ओलिम्पिकको ‘प्रदर्शनी खेल’ मा पदक जित्नुबाहेक नेपालले अहिलेसम्म आधिकारिक पदक जितेको छैन।
पलेशा गोवर्धन श्रेष्ठले कुनै पदक जितेमा नेपाली खेलकुदमा नयाँ इतिहास रचिनेछ।बिबिसी नेपाली सेवाबाट