अमेरिका-मेक्सिको सीमा नजिकै ट्रकमा ४६ जना आप्रवासीको शव फेला

-


     जनहित न्युज    
     असार १४ गते २०७९


अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।  

स्थानीय सञ्चार माध्यमका अनुसार फरक फरक स्वास्थ्य अवस्था रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको छ।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा एउटा ठूलो ट्रक आपत्कालीन सेवामा खटिने कैयौँ कर्मचारीहरूले घेरिएको देख्न सकिन्छ।

केएसएट टेलिभिजन च्यानलका अनुसार उक्त ट्रक एउटा रेलको पटरी नजिकै फेला परेको थियो।द न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियोका प्रहरीले घटनास्थलमा नरहेका सवारी चालकको खोजी गरिरहेका थिए।

सान एन्टोनियो अमेरिका र मेक्सीकोको सीमाबाट झन्डै २५० किलोमिटरको दूरीमा अवस्थित छ।

टेक्ससका गभर्नर ग्रेग याबटले ती मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।
एबोटले मृत्युलाई “उनको (बाइडन) घातक खुला सीमा नीतिको परिणाम” का रूपमा व्याख्या गरे।

मेक्सिकोका विदेशमन्त्रीले आफ्ना एक सरकारी कर्मचारी घटनास्थल तर्फ जाँदै गरेको तर हालसम्म मृत्यु भएकाहरूको कुन देशका हुन भनेर थाहा भने भई नसकेको जनाएका छन्।

अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् ।

सोमबार भएको घटनालाई पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ । यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।

सन् २००१ मा अमेरिकी सीमा क्षेत्रमा भएको आतङ्ककारी हमलापछि अमेरिकाले सीमामा यस्ता घटना नदोहोरिउन् भन्नका लागि कडाइ गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?