
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए। पेट्रोलियम पदार्थको मूल्यबारे सरकारको धारणा सार्वजनिक गर्न सिंहदरबारमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पेट्रोलमा २० रुपैयाँ र डिजेल, मट्टितेलमा २८ रुपैयाँ घटाइएको जानकारी दिए।
सरकारले मूल्य घटाएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर १६३ कायम भएको छ।
सुरुमा मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ घटाइएपछि नयाँ मूल्य १६३ हुन आउने बताएका थिए । तर अहिलेको मूल्य १९२ रुपैयाँमा २८ घटाउँदा १६४ हुन आउँछ । बारम्बार मन्त्री बडूले २८ रुपैयाँ घटाएपछि १६३ भएको बताइरहेपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले २८ घटाउँदा १६४ हुन्छ भनेका थिए । त्यसपछि मन्त्री बडूले डिजेलको नयाँ मूल्य १६३ नै भएको र त्यसका लागि जति घटाउनुपर्ने हो घटाउन निर्देशक थानीलाई निर्देशन दिए । मन्त्री बडूले भने, ‘१६३ नै हो । कति घटाउँदा हुन्छ त्यति घटाउनुस् ।’ ।
यस अघि आज नै प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धनको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।



