१६ मे मा किन आउदै छन भारतीय प्रधानमन्त्री मोदी नेपालमा ?

-


     जनहित न्युज    
     वैशाख १९ गते २०७९


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा नेपाल भ्रमणमा आउने भएका छन् । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । 

१६ मेमा बुद्ध जयन्तीको अवसर पारेर मोदी नेपाल आउने तयारीमा रहेको भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा लेखेको छ । 

मोदी नेपाल आउँदा प्रधानमन्त्री शेरबहादुर देउवा र उनको भेट लुम्बिनीमा हुने द हिन्दूको दाबी छ । स्रोतको हवाला दिँदै द हिन्दूले मोदी लुम्बिनीमा आए पनि काठमाडौंमा नआउने उल्लेख गरेको छ । यो मोदीको केही घन्टाको मात्र नेपाल भ्रमण हुने द हिन्दूले स्रोतलाई उद्धृत गर्दै दाबी गरेको छ ।

प्रधानमन्त्री देउवा एक महिनाअघि मात्र भारत भ्रमणमा गएका थिए । त्यसैले यो भ्रमणमा धेरैै द्विपक्षीय कुराकानी नहुने पनि द हिन्दूले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदी कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टपछि तेस्रो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा नेपाल आउन लागेका हुन् । उनी अहिले युरोपको भ्रमणमा छन् । २३ मे र २४ मेमा उनी जापानको भ्रमणमा जाँदैछन् ।

अहिले नेपालका लागि भारतीय राजदूत नभएकाले नेपालको परराष्ट्र मन्त्रालयले यो विषयमा कुनै औपचारिक जानकारी दिइसकेको छैन । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा विदेश सचिवमा सरुवा भएपछि राजदूत खाली भएको हो । द हिन्दूले भारतका विदेश मन्त्रालयका उच्च अधिकारीलाई नेपालका लागि राजदूत तोक्ने भारतीय सरकारको तयारी रहेको पनि जनाएको छ ।

यसैबिच भारतको प्रमुख प्रतिपक्ष भारतीय राष्ट्रिय काँग्रेस पार्टीका नेता राहुल गान्धी छुट्टी मनाउन काठमाडौँ आएका छन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो ।

नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । त्यस दौरानमा उनी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?