राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 

-


     जनहित न्युज    
     चैत्र ३० गते २०७८


राष्ट्रिय जनमोर्चाले वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीका घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी अध्यक्ष चित्रबहादुर केसीले विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

त्यसक्रममा अध्यक्ष केसीले नेपालमा संघीय शासन प्रणाली छोटो समयमै असफल बनेको पुष्टि भएको दाबी गरे। उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए ।

संघीयताका कारण नेपालमा आर्थिक बोझ थपिँदै गएकाले त्यसको खारेजी नै आफ्नो पार्टीले अघि सारेको प्रमुख मुद्दा भएको बताए । जनआन्दोलनका उपलब्धि र कम्युनिस्ट आन्दोलनमाथि संघीयता खतरा बनेर रहेको बताउँदै उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर संघीयता खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

‘स्थानीय तह जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ। जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्वअभ्यासका लागि यसलाई बलियो बनाउनुपर्छ,’ उनले भने, ‘संघीयताको कारण जनताको स्थानीय स्वशासनको अधिकार कुण्ठित भइरहेको छ, त्यसो हुनु हुँदैन।’

घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ। गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ। इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने, दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने घोषणा पत्रमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?