
यौन दुर्व्यवहारको घटनालाई लिएर मोरङको लेटाङमा भएको झडपमा एक प्रहरीको ज्यान गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिका-५ खेरूवा क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आदेश उल्लंघन नगर्न आग्रह गरेका छन् ।
गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा दिनभर प्रहरी सुरक्षा दिएर राखेको थियो । विद्यार्थी र स्थानीय अभिभावकले शिक्षकलाई बाहिर निकाल्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेपछि झडप सुरु भएको थियो ।
सोही क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता नवीनकुमार राईले बताए । उनलाई कोसी प्रादेशिक अस्पताल लगिएको थियो तर, चिकित्सकले मृत घोषणा गरे ।
घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका थिए । स्थानीय पनि सात जना घाइते भए ।
लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ७ मा पढ्ने १३ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे शान्त भएको थियो ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लेटाङ नगरपालिकाको वडा नंम्बर ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु आदेश जारी गरिएको हो ।



