
जापानका १० प्रान्तहरूमा कोभिड-१९ का गम्भिर प्रकृतिका बिरामीहरूका लागि अस्पतालको बेड उपयोगको दर उच्च रहेकोले हाल जारी अर्ध-आपतकालिन अवस्थालाई अझ दुई हप्ता विस्तार गर्ने योजना गरिरहेको छ ।
हाल ३१ प्रान्तहरूमा रहेको अर्ध-आपतकालीन उपायहरूको अवधि आगामी आइतबार अर्थात् मार्च ६ तारिकका दिन सकिने भएकोले सरकारले टोकियो, साइतामा, चिबा, कानागावा, गिफु, आइची, मि, क्योटो, ओसाका र ह्योगोमा मार्च २१ सम्म विस्तार गर्ने योजना गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन। यस सम्बन्धी सरकारले यहि हप्ताको अन्त्यमा कुन प्रान्तमा उपायहरू विस्तार गर्ने र कति समयको लागि निर्णय गर्ने भन्ने बारेमा अपेक्षा गरिएको छ।
आइतवारसम्म कोरोनाभाइरस बिरामीहरूका लागि अस्पतालको ओछ्यान उपयोगको अवस्था टोकियो महानगरीय क्षेत्रका प्रान्तहरूमा ६० देखि ७० प्रतिशतको बिचमा र ओसाकामा ७० देखि ७७.२ प्रतिशतको बीचमा रहेको बताईएको छ।
कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या उच्च रहेको र यस रोगबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको तथ्यका आधारमा अर्ध-आपतकालीन उपायहरूको अवधि बढाउन अधिकारी र विज्ञहरूले सरकारलाई सल्लाह दिइरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सातादेखि गम्भीर बिरामीको सङ्ख्या झण्डै १ हजार ५ सय पुगेको छ भने केही दिनयता मृत्यु हुनेको सङ्ख्या पनि दैनिक २ सय ५० माथि पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका विज्ञहरूको प्यानलले बिहीबार एउटा प्रतिवेदन सार्वजनिक गर्दै अर्ध-आपतकालिन अवस्थामा रहेका ३१ प्रान्तहरूमध्ये धेरैमा दैनिक नयाँ केसहरू अघिल्लो साताको तुलनामा घट्दो क्रममा छन् तर यसले ८० वर्षभन्दा माथिका व्यक्तिहरू बढि प्रभावित रहि घटनाहरू घटेको कुरा औंल्याएको थियो ।
यसैबीच ओकिनावा र यामागाटा प्रिफेक्चरहरूमा फेब्रुअरी २१ मा नै अर्ध-आपतकालिन उपायहरू हटाइको र अघिल्लो हप्ताको तुलनामा दैनिक संक्रमितको संख्यामा थोरै बृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख छ।
“हामी चिन्तित छौं कि संक्रमितको संख्या फेरि बढ्न सक्छ (जारी रहन्छ),” मन्त्रालयको सल्लाहकार प्यानलका प्रमुख ताकाजी वाकिताले बिहीबार भने।
सोमबार ओसाकाका गभर्नर हिरोफुमी योशिमुरा र आइची गभर्नर हिदेकी ओमुराले केन्द्रीय सरकारलाई तीन हप्तासम्म उपायहरू विस्तार गर्न अनुरोध गर्ने योजना बनाएको उल्लेख गरेका छन ।
प्रधानमन्त्री फुमियो किशिदाले फेब्रुअरी १७ मा १७ वटा प्रान्तमा अर्ध-आपतकालिन लम्ब्याउने निर्णय गरेकोमा संक्रमितको संख्यामा नाटकीय रूपमा सुधार देखिएकोले मार्च ६ सम्मको अवधिलाई मात्र थप गरेका थिए । सरकारले सोचेजस्तो फेब्रुअरीको सुरुदेखि मध्यसम्ममा संक्रमितको संख्या तिव्र रूपमा संख्या घटेको छैन।
अझै जापानले सीमामा गरेको कडाइलाई सहज बनाउने संसारभरको प्रवृत्तिलाई पछ्याउँदै मंगलबार अर्थात् मार्च १ बाट नया विदेशी विद्यार्थीहरू र व्यवसायिक यात्रीहरू जस्ता यात्रुहरूलाई प्रायोजकहरू भएमा जापान प्रवेश गर्न अनुमति दिएसंगै संक्रमितको संख्यामा वृद्धि आउन सक्ने बताईएको छ ।
जापान प्रवेश गरेको तेस्रो दिनमा कोभिड-१९ रिपोर्ट नेगेटिभ आएमा सबै आगमनहरूको लागि क्वारेन्टाइन अवधि तीन दिनमा घटाइनेछ। बुस्टर शट खोप पाएका र ओमिक्रोन हट स्पट नभएको देशबाट आएका यात्रुहरूलाई क्वारेन्टाइनबाट छुट दिइनेछ। तर दैनिक आवागमनमा ५ हजारको सीमा नबढेकोमा व्यवसायी नेताहरुले निराशा व्यक्त गरेका छन् । “दैनिक ५ हजारको आगमन सीमा पर्याप्त छैन। हामीले कोरोनाभाइरससँग बाँच्ने नीतिमा परिवर्तन गर्नुपर्छ,” राकुटेन कम्पनीका अध्यक्ष हिरोशी मिकितानीले ट्विटरमा भनेका छन्।



