
जापानको मन्त्रिपरिषद् कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन २०१९ मा जापानमा आयात गरिएका २० प्रतिशतभन्दा बढी वस्तुहरू चीनमा नै अत्यधिक निर्भर गरिनुपर्ने देखिएकोले जापानको आपूर्ति शृङ्खलालाई बलियो बनाउनुपर्ने आवश्यकतालाई जोड दिएको छ।
मुल्य र आयातित वस्तुहरुको हिसाबले ५० प्रतिशतभन्दा बढीले जापानको निर्भरता चीनमा रहेको सरकारी रिपोर्टमा उल्लेख छ । आयातित सामग्रीमा जापान सबैभन्दा बढी सन् २०१९ मा चीनमा निर्भर रहेको समेत सो रिपोर्टले देखाएको छ ।
जापानले कपडा, खेलकुद सामग्री, फेस मास्क, मोबाइल र कम्प्युटरजस्ता सामग्रीहरु सबैभन्दा बढी चीनबाट आयात गर्ने गरेको क्योदो न्युजमा समाचार छ । अन्य मुलुकको तुलनामा जापान चीनबाट आयातित सामग्रीमा बढी निर्भर हुने गरेको समेत सरकारी तथ्यांकले देखाएको हो।
५,००० आयातित वस्तुमध्ये १,१३३ अर्थात् २३ प्रतिशत वस्तुको चीनबाट आयात गरिदा मूल्यको हिसाबले हेर्दा झण्डै ५० प्रतिशतभन्दा बढी निर्भरता रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
अन्य देशको तुलनामा जापानको चीनमा बढी निर्भरता रहेको छ।अमेरिकासँग सन् २०१९ मा ५९० र जर्मनीसँग २५० वटा वस्तुहरू आयात गर्ने गरेको छ । प्रतिवेदनले चीनबाट आयात ठप्प भएमा जापानमा उपभोग्य वस्तु बढी प्रभावित हुने चेतावनी समेत दिएको छ । “यदि आयातका लागि विशिष्ट देशहरूमा निर्भर हुने प्रवृत्ति बलियो भयो भने, आपूर्तिमा समस्या हुदाको जोखिमहरूको जवाफ दिन गाह्रो हुनेछ,” प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले चीन बाहेक धातु जस्ता केही औद्योगिक सामाग्रीको कुनै खास देशसँग ५० प्रतिशतभन्दा बढी निर्भरता अनुपात रहेको भन्दै प्रमुख निर्यातकर्ता मुलुकमा कुनै गम्भीर घटना भएमा सामग्रीको आपूर्तिमा बाधा पुग्ने र जापानमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।



