
नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा आगामी जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुने भएको छ। ‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नारासहित हुन लागेको यस सम्मेलनको सहआयोजकका रूपमा महासंघका ११ वटा वैदेशिक शाखाहरू रहेका छन्।
टोकियोको चुओ सिटीस्थित ‘सेन्ट लुक्स गार्डन टावर’ मा आयोजना हुने सो सम्मेलनमा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका ३३ जना पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ। सम्मेलनमा महासंघका ११ वटै वैदेशिक शाखाका अध्यक्ष र प्रतिनिधि, जापानस्थित क्रियाशील पत्रकार र विश्वभरि छरिएर रहेका नेपाली सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले विश्वव्यापीकरणसँगै प्रवासी नेपाली समुदायका गतिविधि, समस्या र सफलतालाई मातृभूमिसम्म पुर्याउन प्रवासी पत्रकारिताको भूमिका अत्यन्त महत्त्वपूर्ण बनेको बताउनुभयो। सोही जिम्मेवारीलाई थप संस्थागत र प्रभावकारी बनाउन सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ।
सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, चुनौती, सम्भावना, केन्द्रीय समिति र वैदेशिक शाखाबीचको सम्बन्ध, जिम्मेवार पत्रकारितामा प्रविधिको प्रभाव तथा प्रेस स्वतन्त्रताका विषयमा बृहत् कार्यपत्र प्रस्तुति, प्यानल छलफल र अन्तरक्रिया हुनेछ। महासंघका संस्थापक अध्यक्ष तिलक मल्लले प्रवासी पत्रकारिताको संस्थागत विकासका लागि यो सम्मेलन एउटा ऐतिहासिक उपलब्धि बन्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्रविधिको विकासले नेपाल र विदेशमा बसेर गरिने पत्रकारिताको दूरी मेटिइसकेको र पत्रकारिता अहिले विश्वव्यापी अभ्यास बनिसकेको बताउनुभयो। यो सम्मेलन प्रवासी पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्यका लागि एक साझा मञ्च बन्ने अपेक्षा गरिएको छ।
यस सम्मेलनलाई सफल बनाउन निजी क्षेत्रबाट पनि बलियो साथ मिलेको छ। डिजिटल वालेट कर्पोरेशनअन्तर्गतको ‘स्माइल्स मोबाइल रेमिटेन्स’ र ‘स्माइल्स कनेक्ट’ मुख्य कार्यक्रम साझेदार (मेन इभेन्ट पार्टनर) रहेका छन् भने ‘फ्रन्टअप ई–सिम’ इभेन्ट पार्टनरका रूपमा रहेको छ। सार्वजनिक र निजी क्षेत्रको यस प्रकारको सहकार्यले प्रवासी पत्रकारितालाई थप सशक्त बनाउने आयोजकको विश्वास छ।



