नागोयामा ‘चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६’ को तयारी अन्तिम चरणमा, पत्रकार सम्मेलन सम्पन्न

-


     जनहित न्युज    
     जेठ १० गते २०८३


नागोया, जापान

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, राष्ट्रिय समन्वय परिषद् अन्तर्गत क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ तारिखसम्म सञ्चालन हुन गइरहेको “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा कार्यक्रमको विस्तृत जानकारी र हालसम्मको प्रगतिबारे प्रकाश पार्न नागोयामा एक विशेष पत्रकार सम्मेलन सम्पन्न भएको छ।

आयोजकका अनुसार पत्रकार सम्मेलनमा फेस्टिवलको मुख्य उद्देश्य, तयारीको अवस्था, विशेष आकर्षण, सांस्कृतिक प्रस्तुति, नेपालको पर्यटन प्रवर्द्धन तथा जापानस्थित नेपाली समुदायको सहभागिताका विषयमा सञ्चारकर्मीहरूलाई विस्तृत जानकारी गराइएको थियो।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुबाट उठेका विभिन्न जिज्ञासाहरूको जवाफ एनआरएनए जापानका महासचिव श्याम शितल, एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवान, कोषाध्यक्ष दिपक अधिकारी, “चौथो नेपाल फेस्टिवल एण्ड एक्सपो २०२६” का संयोजक भेषनाथ गौतम, उप-संयोजक सुरेशचन्द्र उपाध्याय, आर्थिक संयोजक दिपक कार्की, स्टल संयोजक सिपि भुषाल र स्वयंसेवक व्यवस्थापन संयोजक मिलन तामाङ लगायतले दिनुभएको थियो।

सञ्चारकर्मी कान्ता गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा एनआरएनए क्षेत्रीय समिति नागोयाका उप-संयोजक पाईजा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने फेस्टिवलका प्रचार-प्रसार संयोजक एवं पत्रकार कविकिरण न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रम एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योवन देवानको सभापतित्वमा सम्पन्न भएको थियो।

विशिष्ट अतिथिहरूको उपस्थिति र हस्तकलाको विशेष आकर्षण

आउँदो मे ३०, ३१ (शनिबार र आइतबार) र जुन १ (सोमबार) का दिन नागोयाको साकाएस्थित हिसाया ओडोरी पार्क (एडिओन हिसाया स्क्वायर) मा आयोजना हुने यस भव्य फेस्टिवलमा आइची प्रिफेक्चरका गभर्नर, नागोया सिटीका मेयर, जापानका लागि नेपाली राजदूत लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। यसका साथै जापान तथा विश्वभर छरिएर रहेका एनआरएनएका अभियन्ताहरूको समेत बाक्लो उपस्थिति रहनेछ।

यस वर्षको फेस्टिवल एवं एक्सपोको अर्को मुख्य आकर्षण ‘नेपाली हस्तकला’ रहनेछ। सार्वजनिक गरिएको पोस्टर र पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, विश्वका विभिन्न देशमा हस्तकलाको माध्यमबाट नेपाललाई चिनाउने अभियानमा सक्रिय ‘हस्तकलाकर्मी’ नेपाली टोलीको विशेष उपस्थिति तथा प्रदर्शनी रहनेछ।

जापानमा नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस फेस्टिवलले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ। सम्पूर्ण जापानवासी नेपालीहरुलाई उक्त दिन उपस्थित भई कार्यक्रम सफल बनाउन आयोजकले अपिल समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?