
धादिङ, ११ फागुन ।धादिङमा मध्यराति भएको बस दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन्।
राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।
ग १ ख १४२१ नम्बरको बस राति करिब सवा १ बजेतिर धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेको थियो । बसमा करिब ४० जना यात्रु सवार रहेको आशंका गरिएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली तत्काल उद्धारका लागि घटनास्थल पुगेको थियो । रातिको समय र अप्ठ्यारो स्थान भएका कारण उद्धार कार्यमा सुरक्षाकर्मीहरूलाई निकै कठिनाइ भएको थियो । नदी किनारमा बस खसेकाले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको विशेष टोली पनि परिचालन गरिएको थियो ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाका अनुसार १७ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको जानकारी दिए ।
हालसम्म मृतक तथा घाइतेहरूको सनाखत हुन सकेको छैन । दुर्घटनाको यकिन कारण पनि अहिलेसम्म नखुलेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



