प्रवासबाटै फेरिनेछ मातृभूमिको भाग्य? टोकियोमा सम्पन्न ‘राष्ट्रिय बहस’ मा विश्लेषक सौरभको यस्तो गर्जन

-


     जनहित न्युज    
     माघ १२ गते २०८२


टोकियो (जापान) — कास्की पोखरा समाज जापानले टोकियोमा आयोजना गरेको ‘प्रवासी भूमिमा राष्ट्रिय बहस’ कार्यक्रम एनआरएनए उपाध्यक्ष रोबिन सेरचन र विश्लेषक सौरभको विशेष उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ।

समाजले जापानको सिन्जुकुस्थित सागामी हलमा आइतबार आयोजना गरेको उक्त बौद्धिक कार्यक्रममा मातृभूमिप्रतिको दायित्व र राष्ट्रियताको विषयमा गहन छलफल भयो। प्रवासमा रहेर पनि नेपालीपन र राष्ट्रिय चिन्तनलाई जीवन्त राख्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका विशेष वक्ता एवं विश्लेषक सौरभले राष्ट्रिय चेतना, प्रवासी नेपालीको भूमिका र समसामयिक विषयमा आफ्नो दार्शनिक तथा विश्लेषणात्मक विचार राख्नुभएको थियो। उहाँले भूगोल बाहिर भए पनि भावनात्मक रूपमा नेपालीहरू राष्ट्रसँग जोडिनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, प्रमुख अतिथि एनआरएनए आईसीसी उपाध्यक्ष रोबिन सेरचनले प्रवासी नेपालीहरूको ज्ञान र सीपलाई नेपालको समृद्धिमा लगाउनुपर्ने बताउनुभयो।

समाजका अध्यक्ष कमल बास्तोलाको अध्यक्षता र महासचिव जिवन पोखरेल (कञ्चन) को सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा जापानस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?