जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता

-


     दिनेश थापा     
     असार २० गते २०८२


जापानमा भलिबल प्रतियोगिताको सर्वाधिक राशीको दोस्रो बोहोराफाँट कप सम्पन्न हुँदा नरेठाटी स्पोर्ट्स क्लव जापान विजेता बनेको छ।
“खेलकुद, कला, संस्कृतिको संरक्षण, हाम्रो अभियान, समाज रूपान्तरणमा युवाको, सक्रियता हाम्रो पहिचान “ भन्ने नाराका साथ जन्मस्थानका लागि शिक्षा, स्वास्थ्य, खेलकुद , ऐतिहासिक स्थानको संरक्षण साथै खेलमैदान जस्ता पूर्वाधारका क्षेत्रमा विकाशमा सरोकारवाला निकायसँगकाे समन्वयमा सहयोग गर्ने उदेश्यका साथ आयोजित दोस्रो BSJ भलिबल कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२५ बिहीबार सम्पन्न भएको हो ।
खेलकुदको माध्यमबाट आपसी सद्धभाव सुमधुर भाईचारा तथा सामाजिक सम्बन्ध निर्माण गरि नेपालको राष्ट्रिय खेल भलिबलको संरक्षण प्रवर्द्धन गर्दै विदेशी भुमिमा रहेका भलिबल खेलाडीहरुको हौसला वृद्धि गर्ने ध्येयका साथ सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा तोडा स्पोर्ट्स सेण्टरमा ९ समूहले सहभागिता जनाएका थिए।
७ टिमपछि पार्दै फाईनल पुगेको ताराखोला फ्रेण्ड्स सर्कल जापानलाई २-० को सोझो सेटमा पराजित गर्दै नरेठाटी स्पोर्ट्स क्लव जापान च्याम्पियन बन्न सफल भएको हो।

गलकोट समाज जापानको मुख्य प्रायोजक रहेको प्रतियोगितामा विजेता बन्न सफल भएको नरेठाटी स्पोर्ट्स क्लव जापानले नगद ४ लाख २० हजार येन, कप, मेडल र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको ताराखोला फ्रेण्ड्स सर्कल जापानले २ लाख ६० हजार येन नगद, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य भएको हो।
प्रतियोगितामा सान्त्वना बनेका गलकोट समाज जापान र NYSC JAPAN ले क्रमश ५५ हजार येन नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएको कार्यक्रम संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए।
सर्वोत्कृष्ट खेलाडी बने रबि केसी

प्रतियोगितामा गण्डकी प्रदेश, गलकोट नगरपालिका ७ मल्म निवासी र हाल जापानमा भलिबल खेलमा सक्रिय रबि केसी सर्वोत्कृष्ट खेलाडी (MVP) घोषित भए। उनले प्रतियोगिता भरि उत्कृष्ट खेल प्रस्तुत गर्दै आफ्नो टिमलाई जितसम्म पुर्‍याउन नेतृत्वदायी भूमिका निर्वाह गरे। प्रतियोगिता अवधिभर उनले खेलको रणनीति, फुर्तिलो ब्लकिङ, सशक्त स्पाईक, र उत्कृष्ट कभरिङमार्फत दर्शकको ध्यान तान्न सफल भएका थिए ।

विशेषतः सेमिफाइनल र फाइनल खेलमा उनले निर्णायक क्षणहरूमा गरेका अंकले टिमलाई उपाधि जित्न सहयोग पुर्याएका थिए। “बोहोराफाँट कपमा सर्वोत्कृष्ट खेलाडी बन्नु मेरो लागि गर्वको विषय हो। यो पुरस्कार मैले मेरो टिम, प्रशिक्षक, र सम्पूर्ण नेपाली समुदायलाई समर्पण गर्दछु।” रविले उपाधि लिँदै उक्त कुरा बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रबि केसी (नरेठाटी स्पोर्ट्स क्लव जापान) वेस्ट स्पाइकर विकाश खड्का (ताराखोला फ्रेण्डर्स सर्कल) वेस्ट सेटर सुजन चोखाल (नरेठाटी स्पोर्ट्स क्लव जापान) वेस्ट सर्भर – मनोज क्षेत्री (ताराखोला फ्रेण्डर्स सर्कल) वेस्ट ब्लकर सन्दीप क्षेत्री (नरेठाटी स्पोर्ट्स क्लव जापान) वेस्ट लिवेरो बिष्णु थापा (ताराखोला फ्रेण्डर्स सर्कल) वेस्ट प्रशिक्षक रमेश केसी (नरेठाटी स्पोर्ट्स क्लव जापान) ले उपाधि चुम्न सफल रहेको मुख्य रेफ्रीको भुमिकामा रहेका भलिबल रेफ्री अमर पुनले बताए।
प्रतियोगिता आयोजनामा महिलाहरूको सक्रियता र व्यवस्थापन क्षमता विशेष उल्लेखनीय रहेको थियो। महिला संयोजक तारा कार्कीले महिलाहरूको योगदानलाई विशेष प्रशंसा गर्दै भनिन् हामीले देखायौ कि महिलाहरू केवल दर्शक वा सहायक मात्र होइनन्, पूर्ण आयोजक र योजनाकार पनि हुन सक्छन्। यो प्रतियोगिता महिला सशक्तिकरणको दृष्टिकोणले पनि ऐतिहासिक रह्यो।”

महिला तर्फ दुई टिमको मैत्रीपूर्ण प्रतियोगिता समेत रहेको थियो।
प्रतियोगिताको फाईनल खेलको उद्घाटन प्रमुख अतिथि गलकोट समाज जापानका अध्यक्ष रत्नसिंह बस्नेत, गलकोट नगरपालिका वड़ा ०३ का जनप्रतिनिधि रबिन बोहोरा, राष्ट्रिय स्तरमा ख्याति प्राप्त गायक तथा सर्जक बिष्णु खत्री, नेपाल भलिबल संघ गण्डकी प्रदेशका अध्यक्ष नवीन गुरुङ, कार्यक्रम संयोजक तथा अध्यक्ष संयुक्त रूपमा गरेका थिए।
खेलाडीहरूको जोश, खेलकुदमा देखिएको अनुशासन, र समुदायको एकता कार्यक्रमको विशेष आकर्षण बनेको आयोजकको दाबी छ ।
कार्यक्रमले खेलमार्फत प्रवासमा रहेका नेपालीहरूबीच एकताको भावना मजबुत बनाएको आयोजक संस्थाका अध्यक्ष एक बोहोराले बताए। “हामीले नेपाली संस्कृतिलाई मात्र होइन, हाम्रो राष्ट्रिय खेललाई पनि प्रवासमा जिवित राख्न यो आयोजनाले ठूलो भूमिका खेलेको छ,” उनले भने।
प्रतियोगिता आयोजना समितिका सचिव केशव कार्कीका अनुसार कार्यक्रमको सफलताको मुख्य श्रेय जापानबासी नेपाली समुदायको ऐक्यबद्धता, युवाको सक्रियता, र महिलाको नेतृत्व क्षमता रहेको बताए।
प्रतियोगितामा शुभकामना मन्तव्यको व्यक्त गर्दै गलकोट समाज जापानका अध्यक्ष बस्नेतले प्रतियोगिताको सफल आयोजना गरेकोमा खुशी व्यक्त गर्दै, आयोजक, खेलाडी तथा सम्पूर्ण समुदायलाई शुभकामना व्यक्त गरे। उनले भने बोहोराफाँट कप जस्ता प्रतियोगिताले हामी नेपालीहरूलाई जहाँसुकै भए पनि एकत्रित गर्ने, हाम्रो राष्ट्रिय पहिचान र संस्कृति जीवित राख्नका लागि एउटा माध्यम बनेका बताए।
शुभकामना कै क्रममा बोहोराफाँट कपको सफल आयोजनामा खुसी व्यक्त गर्दै गलकोट नगरपालिका–०३ का जनप्रतिनिधि रबिन बोहोराले विदेशी भुमिमा रहेर उत्कृष्ट व्यवस्थापन रहेको यस प्रतियोगितामा भौतिक रुपमा उपस्थित भएर प्रत्यक्ष अवलोकन गर्न पाउदा खुशी लागेको बताए ।

उनले भने – बोहोराफाँट कपको सफल आयोजनाले गलकोट क्षेत्रकै गौरव अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गरेको छ। प्रतियोगितामा ‘गलकोट’को नाम अग्रपंक्तिमा देखिनु हामी सम्पूर्ण गलकोटवासीका लागि गर्वको विषय हो।

कार्यक्रमा समुदायमा विशेष योगदान पुर्याएका व्यक्तिवहरु सम्मान समेत गरिएको थियो।

गीत संगीतको क्षेत्रमा राष्ट्रिय स्तरमा ख्याती प्राप्त गायक तथा सर्जक बिष्णु खत्री, गलकोट नगरपालिका–०३ का जनप्रतिनिधि रबिन बोहोरा, गलकोट बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्ण प्रसाद गौतम, समाजसेवी गंगा बोहोरा, समाजसेवी पहलसिंह बोहोरा, कुशल भलिबल खेलाडी प्रकाश सुनार र गलकोट समाज जापान क्षेत्रीय समिती टोकियोका संयोजक दिनेश थापालाई दोसल्ला, सम्मान पत्र तथा मायाको चिनोद्वारा सम्मान गरिएको महासचिव पवन बोहोराले बताए।

प्रतियोगिताको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष एक बहादुर बोहोराको अध्यक्षता सह सचिव ईश्वर क्षेत्रीले संचालन गरेका थिए कार्यक्रमको संयोजकत्व वरिष्ठ उपाध्यक्ष प्रकाश बोहोराको थियो भने स्वागत मन्तव्य महिला संयोजक तारा कार्कीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?