
अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको आरोपमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो ।
केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । अनमोलविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
उनले भने–‘आपराधिक विश्वासघात गरेर ठगेको कसुरमा उनीविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरेका हौँ ।’
चलचित्रको पैसा लिएर पनि काम नगरेको भन्दै केसीविरुद्ध उजुरी परेको बताइएको छ । केसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले बताए ।
फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।
उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए । अनमोललाई टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । यस्तै अनमोलविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो ।