
पोखरा महानगरपालिका वडा न. २५ शिक्षा समितिको आयोजनामा कोष हस्तान्तरण कार्यक्रम शुक्रबार पोखरा २५ हेम्जा सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि अक्षयकोष स्थापना गरेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
विदेशमा रेहर पनि देशको भौतिक लगाएत अन्य बिकासको लागि अहोरात्र चिन्तित रहने पौडेलले कास्की वरिपारिका पदमार्ग लगायत अन्य देश विकासका लागि एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद ( आइसीसी) का कार्यकारी अध्यक्ष रबीना थापासँग पहल गरी बैंकमा फ्रिज भएको रक़मलाई जन्मभूमिको बिकासमा लगाउन पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरे।
आइसीसीका सल्लाहकार मुकुन्द बाँस्तोलाले हेम्जाको बिकासमा सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा वडा शिक्षा समिति सदस्य सुवास भण्डारी, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल र गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर लगायतले पनि आफ़्नो धारणा राखेका थिए ।
जेहेन्दार तथा मेहनती विद्यार्थी प्रोत्साहनका लागि ‘ वडा शिक्षा समिति र एनआरएनए जापानको संयुक्त पहलमा अक्षयकोष स्थापना गरिएको हो । उक्त अवसरमा ३ लाख ४० हजारको कोष हस्तान्तरण गरिएको छ । कोषलाई आगामी २ बर्षमा २० लाख पुर्याउने लक्ष्य रहेको हुदा सहयोगी मनलाई सहयोग गर्न वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले आग्रह गरेका छन ।
सोही कार्यक्रममा धार्मिक क्षेत्रको बिकास गर्न रुद्र महादेव मन्दिर पदमार्ग निर्माणका लागि योजना बनाउन छलफल गर्न घोषणा समेत गरिएको छ ।वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन वडा सचिव सुबोद खनालले गरेका थिए ।



