म्याग्दीका केही युवाको प्रयासले गर्दा युवालाई रोजगारको अवसर सिर्जना भएको छ । सदरमुकाम बेनीमा पाँच जना युवाले थालेको छुट्टाछुट्टै पेशा तथा व्यवसायबाट उनीहरू आफू स्वरोजगार हुँदै अन्य युवालाई पनि रोजगारी प्रदान गरेका हुन् ।
बेनीबजारको गणेशटोलमा डिजी प्रिन्टका सञ्चालक भीमनाथ शर्माले थालेको डिजी प्रिन्टिङ एण्ड सोलुसनबाट अहिले नौ जनाले रोजगारी पाएका छन् ।
शर्मा आफैँ पनि यही व्यवसायमै आबद्ध हुनुहुन्छ भने उहाँसहित तीनजना कम्प्युटर अपरेटर, दुईजना प्रेस अपरेटर, एकजना बजार व्यवस्थापक, एकजना काउण्टर, एकजना स्कृन प्रिन्ट र एकजना फ्रेम निर्माणमा गरी नौ जनाले डिजी प्रिन्टमा रोजगारी पाएका छन् ।

बेनी नगरपालिका–१०, पात्लेखेतका स्थायी वासिन्दा शर्माले २०७० सालदेखि व्यवसाय सञ्चालन गरेका हुन । विदेश मात्रै जानेभन्दा पनि हामी आफैले यही प्रयास गर्दा पनि केही गर्न सकिएला भनेर गरेको प्रयासले आफू मात्रै नभएर अन्य सात जनालाई पनि रोजगारी दिन सकेकोमा खुशी लागेको उहाँको भनाइ छ । दर्ता तथा अनुमति लिनुपर्ने सबै निकायमा लिपिबद्ध गरेर व्यवसाय गर्दा कुनै समस्या नहुने उनले बताए ।
यसैगरी, मङ्गला गाउँपालिका–४, बरंजाका दुर्गालाल कँडेल वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमरेट्सकाे दुबई शहर पुगेका थिए ।
उनले झण्डै दुईलाखको मासिक तलब छाडेर चार वर्ष अगाडि नेपाल फर्किनुभयो । त्यसपछि उहाँले बेनी नगरपालिका–८, शिक्षामार्गमा मनकामना बेकरी सञ्चालन गर्दै आएका छन ।

डेरी उद्योगसँगै बेकरी उद्योग सञ्चालन गरेका उनले उहाँले युएईमा सर्भकोर्प एलएलसी कम्पनीमा चारवर्ष काम गरेका थिए । अहिले उनको बेकरीमा मिस्त्री दुईजना, हेल्पर दुईजना, सेल्समेन एकजना, काउन्टर सेल्सपर्सन एकजना, केक सेफ एकजना र आफू स्वयं पनि काम गर्छन ।
त्यस्तै, बेनी नगरपालिका–९, घताका सन्दीप खत्रीले २०७४ सालबाट बेनीको गणेशटोलमै लालिगुराँस अफसेट एण्ड फ्लेक्स प्रिन्ट सञ्चालन गर्दै आएका छन । उनको व्यवसाय मूल्य अभिवृद्धि कर (भ्याट)मा सञ्चालित छ ।
मेसिनमा तीनजना, कम्प्युटर अपरेटर खत्रीसहित दुईजना, मार्केटिङमा एकजना, व्याण्डिङमा दुईजना, फ्लेक्स प्रिन्टमा एकजना र काउन्टरमा एकजना गरी १० जनाले रोजगारी पाएका छन् ।
सञ्चालक खत्री आफैँ पनि त्यही काम गर्छन । म्याग्दीमै जन्मिएर हुर्केर यही जिल्लामै व्यवसाय गर्दा राम्रो सहयोग त मिल्छ नै त्यसमाथि पनि आफूले अरु युवालाई समेत रोजगार दिन पाउनु पनि सबल पक्ष भएको खत्री बताए ।
त्यसैगरी शिवपुरी गाउँपालिका–३, नुवाकोट जिल्ला घर भई बेनीमा लामा रेष्टुरेन्ट तथा लामा कुदाप सञ्चालन गर्नुभएका राजन लामाले आफूसहित १५ जनाको लागि रोजगारी सिर्जना गरेको बताए । लामाकहाँ किचननमा पाँचजना, सहयोगी तीनजना, वेटर पाँचजना एवं उहाँका पतिपत्नी दुवै जनाले काउण्टर चिफको रुपमा काम गर्दै आएका छन ।

लामो समयसम्म होटल तथा रेष्टुरेन्ट क्षेत्रमै सक्रिय लामाले पछिल्लो समय आफ्नै प्रयासमा बेनीबजारको हस्पिटलचोकमा लामा कुदाप र गणेशटोलमा लामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन । ग्राहकको माग अनुसारको खानाको परिकार उपलब्ध गराउन सकेकै कारण उनको व्यवसाय फस्टाउँदै गएको छ ।
२०५९ सालमा नुवाकोटबाट बागलुङ आउनुभएका लामा २०६२ मा बेनी आएका थिए । त्यसपछि २०७२ सालदेखि उनले आफ्नै व्यवसाय सञ्चालन गर्न थालेका हुन ।
म्याग्दी क्षेत्रमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सेवा सुविधा र फरक स्वाद भित्र्याउन उनको महत्वपूर्ण भूमिका छ । फरक स्वादकै कारण आफ्नो होटलमा ग्राहकको घुइँचो लाग्ने गरेको उहाँले दावी गर्नुभयो । युवाले थालेको पेशा तथा व्यवसायबाट उनीहरु सफल उद्यमी बन्नुका साथै अन्य युवा पनि उद्यमी बन्नेतर्फ आकर्षित भएका छन् ।

चारजना युवाले गरेको फरक पेशा तथा व्यवसाय रोजगारीको सिर्जना हुनुका साथै युवालाई उद्यमी बन्न प्रोत्साहन मिलेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।
युवाले थालेको व्यवसायलाई म्याग्दी उद्योग वाणिज्य संघले पनि सहयोग गरेको बताउँदै उहाँले युवाले व्यवसाय गर्दा गुणस्तरमा राम्रो हुनुका साथै सेवा पनि छिटोछरितो हुने भएकाले उनीहरूको व्यवसाय राम्रोसँग चलेको बताए । यो समाचार गोरखापत्रका लागि अमृतप्रसाद पौडेलले लेखेका हुन




