१८ वर्षे जापान बसाइ सकेर नेपाल फर्केकी उषा गिरीले सीएनबीएम प्रविधिमार्फत कम्पोस्ट मल उत्पादन सुरु

-


     जनहित न्युज    
     श्रावण ३१ गते २०७९


काठमाडौंको नयाँ बानेश्वरकी उषा गिरी उच्च शिक्षा अध्ययनका लागि जापान गइन् । बाल मनोविज्ञानमा उच्च शिक्षा हासिल गरेपछि उनले जापानमै काउन्सिलरको रूपमा काम सुरु गरिन् । पढाइ र जागिरसँगै उनको १८ वर्ष जापानमा नै बित्यो ।

त्यसबीचमा उनले नेपाली उत्पादनहरू जापान लगेर बेच्ने काम पनि सुरु गरिन् । तर, नेपाली सामाग्रीको गुणस्तरले गर्दा उनले धेरै समस्या झेल्नुपर्‍यो । कफी र चियाजस्ता नेपाली कृषि उत्पादनहरू जापानको गुणस्तर मापन गर्ने निकायबाट नेपाल नै फर्काइए । यसबाट उनलाई यदि नेपाली सामाग्रीहरू निर्यात गर्ने हो भने गुणस्तरमा ध्यान दिनुपर्छ भन्ने शिक्षा प्राप्त भयो ।

आफ्नो १८ वर्षे जापान बसाइ सकेर नेपाल फर्किंदै गर्दा उनले अर्ग्यानिक कृषि उत्पादनमा काम गर्ने सोच बनाएकी थिइन् । तर, नेपालमा अर्ग्यानिक कृषि उत्पादनका लागि पूर्वाधारहरू सहज रूपमा उपलब्ध थिएनन् । मुख्य कुरा त मलकै समस्या थियो । रासायनिक मलको विकल्प जुटाउन त्यति सजिलो नरहेको उनलाई महसुस भयो ।

उषाको अर्ग्यानिक कृषि उत्पादन गर्ने सोचले रिकिशी कम्पोस्ट प्रालिको स्थापना भयो । उषाले अर्ग्यानिक कृषि गर्ने कृषकको रूपमा कार्य नगरे पनि अहिले हजारौँ किसानलाई अर्ग्यानिक र स्वस्थकर कृषिउपज उत्पादन गर्नका लागि सहयोग पुर्‍याइरहेकी छन् । जसले कृषि क्षेत्रमा रासायनिक मलको दर्बिलो विकल्प प्रदान गरिरहेको छ ।

अहिले नेपाली कृषकले रासायनिक मलको अभाव झेलिरहेकै बेला काठमाडौं उपत्यकामा फोहोरको व्यवस्थापन ठूलो चुनौती बनिरहेको छ । फोहोर व्यवस्थापनस्थलमा निकै ठूलो माथापच्ची गर्नुपरेपछि काठमाडौं महानगरले साउन १ गतेबाट कुहिने र नकुहिने फोहोर अलगअलग पारेर संकलन गर्न सुरु गरेको छ ।

कृषकले मल नपाउने र काठमाडौंसहित शहरी क्षेत्रमा उत्पन्न हुने फोहोरको उचित व्यवस्थापनको समस्या भइरहेका बेला यी दुवै समस्याको एउटै समाधान बनेको छ, रिकिशी कम्पोस्ट प्रालि ।

रिकिशी कम्पोस्ट प्रालिले घरबाट निस्किने फोहोरमार्फत मल बनाएर उदाहरणीय काम गरिरहेको छ । भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका– ४ मा रहेको रिकिशी कम्पोस्ट प्रालिलाई मध्यपुर नगरपालिका र बागमती प्रदेश सरकारबाट आर्थिक अनुदानसमेत प्राप्त छ ।

जापानका प्रसिद्ध अर्ग्यानिक मल वैज्ञानिक हासिमोतोको उत्प्रेरणा र सहयोगमा सञ्चालित उक्त उद्योगले जापानिज प्रविधिअन्तर्गतको सीएनबीएम प्रविधिमार्फत कम्पोस्ट मल तयार गरिरहेको छ । यस प्रविधिमार्फत उत्पादित रिकिशी कम्पोस्टमार्फत बिरुवालाई चाहिने सन्तुलित खाद्यतत्त्व कार्बन, नाइट्रोजन, व्याक्टेरिया, मिनरल प्राप्त हुन्छ । जसले गर्दा माटोको गुणस्तर वृद्धि हुनुका साथै बालीमा कीरा लाग्ने समस्यामा समेत कमी आउँछ ।

ठिमीमा हरेक मंगलबार घरघरमै पुगेर फोहोर संकलन गर्ने गरिन्छ । फोहोर संकलनका लागि जाँदा प्रत्येक घरमा ढुटो, रातो माटो र बोटबिरुवाको पत्कर मिसाइएको एउटा बाल्टी दिने गरिन्छ । जसमा फोहोर संकलन गर्ने गरिन्छ । यसरी फोहोर उपलब्ध गराएबापत रिकिशीले हरेक घरलाई ५ केजीसम्म  मल निःशुल्क उपलब्ध गराउँछ ।

मध्यपुर ठिमीबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको रिकिशीले ठिमीसँगै, काभ्रेपलाञ्चोकको पाँचखाल, सिन्धुलीको दुधौली र चितवनको राप्ती नगरपालिकामा समेत शाखा विस्तार गरेको छ ।

रिकिशी कम्पोट प्रालिकी प्रबन्ध निर्देशक उषा गिरीका अनुसार सन् २०१८ बाट उत्पादन सुरु गरेको रिकिशी कम्पोस्ट प्रालिले मध्यपुर ठिमीबाट नै करिब साँढे ४ करोड रुपैयाँबराबरको कारोबार गरिसकेको छ । ठिमीबाट मात्रै मासिक १० टनभन्दा बढीको मल उत्पादन गर्दै यस उद्योगले आफ्ना सम्पूर्ण शाखाहरूमार्फत ७० जनालाई रोजगारी प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?