राहदानीका लागि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सुरू

-


     जनहित न्युज    
     जेठ ५ गते २०८१


जापानमा रहेका नेपालीलाई सहज रुपमा नयाँ राहदानी आवेदन र नवीकरण गर्नका लागि चिबा र टोकियोमा सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको छ ।
नेपाली दुतावास टोकियो जापानको आयोजना गैर आवासीय नेपाली संघ जापानको समन्वय र सहकार्य तथा एनआरएनए चिबा र कान्तो क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा चिबाबाट शनिबारदेखि सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ सञ्चालन भएको हो ।

जापानमा नेपालीहरुको संख्या बढ्दै गइरहेको र नेपालीको बढि जनघनत्व भएको टोकियो क्षेत्रका नेपालीलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा सहज रुपमा पुर्याउने ध्येयका साथ सप्ताहव्यापी राहदानी सम्बन्धी घुम्ती सेवा सञ्चालन गरिएको दुतावास र एनआरएनए जापानले जनाएको छ ।
सप्ताहव्यापी टोकियो चिबा घुम्ती सेवा-२०२४ को औपचारिक सुरुवात कार्यक्रमको उद्घाटन गर्दै नेपाली राजदुतावास टोकियोको राजदूत डा दुर्गाबहादुर सुवेदीले होक्काईदोदेखि सेन्दाइसम्ममा रहेका नेपालीहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने दुतावासको प्रण अनुरुप टोकियो क्षेत्रमा सप्ताहव्यापी राहदानी वितरण कार्य गरिएको बताए ।

“नेपाली दुतावास टोकियो जापानबासी नेपालीहरूको दुःख सुखको साथी र साक्षी पनि हो।” कार्यक्रमको उद्घाटन गर्दै राजदूत डा सुवेदीले भने – हामी सेवाप्रति समर्पित छौं, कोहि नेपालीलाई अप्ठ्यारो पार्ने नभई सहज बनाएरै सहयोग गर्न प्रतिबद्ध छौं ।
राहदानी लगायत कन्सुलर सेवाका लागि घुम्ती सेवा सञ्चालनमा एनआरएनए जापानले सहकार्य र समन्वय गरेर महत्वपूर्ण योगदान पुर्याएकोमा राजदूत डा सुवेदीले धन्यवाद व्यक्त गरे।
“दुतावासको नेपालीलाई सेवा प्रदान गर्ने वचनबद्धता, प्रतिबद्धता र योजनामा एनआरएनए जापान र त्यसका क्षेत्रीय समितिहरूले सदा समन्वय र सहकार्य गरेकोमा आभार व्यक्त गर्दछु ।” राजदूत डा सुवेदीले भने एनआरएनए जापानले सहकार्य गरिरहेको छ, समन्वय गरिरहेको छ, त्यसैले गैर आवासीय नेपाली संघ जापानलाई नेपाली दुतावासको तर्फबाट र नेपाल सरकारको तर्फबाट म हार्दिक आभार र आदर समेत प्रकट गर्दछु।

औपचारिक सुरुवात कार्यक्रमको अध्यक्षता गरेका एनआरएनए जापानमा अध्यक्ष नविन निउरेले नेपालीहरूको बढि जनघनत्व टोकियो क्षेत्रमा रहेकोले चिबा र टोकियोमा सप्ताहव्यापी राहदानी वितरण सम्बन्धी घुम्ती सेवा सञ्चालन गरिएको स्पष्ट पारे ।
घुम्ती सेवामा सकेसम्म बढी भन्दा बढि नागरिकलाई सेवा पुर्याउने ध्येयका साथ कार्य गरिरहेकोले अनुशासित र मर्यादित सबै सेवाग्राहीले आफूले आफूलाई स्वयम् सेवकको रूपमा बुझाइ गरि कार्यसम्पादनमा सहजताका ल्याउन आग्रह गरे ।

घुम्ती सेवा सञ्चालनका लागि एनआरएनए जापानको तर्फबाट संयोजक तथा उपाध्यक्ष सुभास लामिछानेले जापानबासी नेपालीहरुलाई सहज रुपमा राहदानी सम्बन्धी सेवा प्रदान गर्न एनआरएनए जापान क्षेत्रीय समितिहरुले आवश्यक सहजीकरण गरिरहेकोले व्यवस्थित रुपमा सेवा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी गरिएको बताए।
कार्यक्रममा हिमालयन इन्टरनेशल एकेडेमी कोइबाका अध्यक्ष राजन रिजालले घुम्ती सेवाको लागि आफूहरुले सक्दो सहयोग गरिरहने बताए ।
विशेषत टोकियो र चिबा र यस आसपासका क्षेत्रलाई केन्द्रित गरेर सञ्चालित टोकियो चिबा घुम्ती सेवा-२०२४’ औपचारिक कार्यक्रमको सञ्चालन एनआरएनए जापानका महासचिव टिकाराम खरेलले र स्वागत एनआरएनए चिबा क्षेत्रीय समितिका संयोजक समीर जंग खड्काले गरेका थिए।

में २४ तारिखसम्म सञ्चालन हुने टोकियो चिबा घुम्ती सेवा-२०२४’ मा पहिलो दुई दिन अर्थात् १८ र १९ तारिख चिबा क्षेत्रलाई केन्द्रित गरि काेइबामा रहेको हिमालयन इन्टरनेशनल एकेडेमी स्कुलबाट सेवा सञ्चालन हुने र त्यसको स्थानिय व्यवस्थापन एनआरएनए चिबा क्षेत्रीय समितिले गरिरहेको एनआरएनए जापान उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुभास लामिछानेले जानकारी दिए।
सप्ताहव्यापी दोस्रो चरणको घुम्ती सेवा मे २० तारिखदेखि २४ तारिखसम्म टोकियोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कूलबाट सञ्चालन हुने बताइएको छ । यस अवधिमा एनआरएनए कान्तो क्षेत्रीय समितिले घुम्ती सेवाको लागि सम्पूर्ण व्यवस्थापकीय कार्य गर्ने एनआरएनए कान्तो क्षेत्रीय समितिका संयोजक सागर कार्कीले जानकारी दिए।

सेवा सहजता र तथ्यांक संकलनका लागि गुगल फारममार्फत संकलन गरिएको जानकारी बमोजिम यस अवधिमा सेवा लिनका लागि १६ सय ७६ जनाले आवेदन गरेका छन् । यस मध्य पहिलो चरण हिमालयन इन्टरनेशल एकेडेमी स्कुलमा ५०६ जना र एभरेष्ट इन्टरनेशनल स्कूलमा ११ सय ७० जनाले सेवा लिनका लागि गुगल फारम भरेको दुतावासले जनाएको छ । भरिएका फारमका आधारमा समय र मिति निर्धारण गरिएकोले सोहि आधारमा घुम्ती सेवामा सेवा लिन आउनका लागि एनआरएनए जापानमा महासचिव टिकाराम खरेल सम्बद्द सबैमा आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?