‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने मान्यताका साथ एनआरएनएको अध्यक्षमा डा.बद्री केसीको उम्मेदवारी घोषणा (प्रतिबद्धताको पूर्ण पाठसहित)

-


     जनहित न्युज    
     असाेज १९ गते २०७८


उम्मेद्वारी घोषणा गर्दै केसीले वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने बताए । डा केसीले करिब ५५ वटा लिखित प्रतिबद्धतापत्र जनाएका छन् ।

व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड निर्माण, संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण,गैरआवासीय नेपालीका हक हित अधिकार सुनिश्चित गर्ने ज्ञान, सीप र प्रविधिसहितको एनआरएन बनाउने, नेपाल एवं नेपाली पर्यटन प्रवर्धन गर्न समन्वयात्मक काम गर्ने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन ।

त्यसैगरि युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डरमै समेटिनेछ । यसका लागि ‘एनआरएन युथ मिट’ र ‘अन्तर्राष्ट्रिय महिला सम्मेलन’ आयोजना गरिने पनि प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

गैर-आवासीय नेपालीलाई नागरिकता दिलाउने, गैर-आवसीय नेपालीको लगानी नेपाल भित्र्याउने लगायतका प्रतिवद्धता जनाए । आफू अध्यक्षमा निर्वाचित भए श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने, एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने, एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने उनले प्रतिवद्धता जनाए ।

वर्तमान कार्यसमिति उपाध्यक्षसमेत रहेका केसीले यसअघि आफूले अघि सारेका कामलाई पुरा गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको स्पष्ट पारे ।

एनआरएनएकाे १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि कुल आचार्य र रविना थापाले पनि यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् ।

हेर्नुस् गैरआवासीय नेपाली संघ १० औं विश्व सम्मेलन तथा महाधिवेशन २०२१ कालागि डा. केसीका प्रतिबद्दता —

आदरणीय गैरआवासीय नेपाली साथीहरू,
आदरणीय आमाबुबा, दाजूभाई, दिदीबहिनी, शुभचिन्तक
‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १९ वर्षको अवधिमा धेरै रचनात्मक र गौरवान्वित काम गरेको छ । विश्वका ८५ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

विगतमा अग्रजहरुको समिपमा बसेर र आजका दिनसम्म अनुज एवं सहपाठीसँग मिलेर संस्थाका हरेक गतिविधिमा सदैव साथमा रहँदै आएका छु । अग्रजहरूको समर्पण, मैत्रीभाव र कार्य कुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको हुँदा त्यो अनुभवलाई समेत हाम्रो संगठनको उचाइ वृद्धिमा लगाउनु मेरो कर्तव्य ठानेका छु । त्यसकारण यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सक्छ् भन्ने विश्वास लिएका छु ।

संघकै अभियानको प्रभाव र सम्मानस्वरुप नेपाल राष्ट्रले हामीलाई गैरआवासीय नेपाली ऐन (२०६४), कानुनी मान्यता दियो । संविधानसभाले गैरआवासीय नेपाली को नागरिकताको सुनिश्चित गरेको छ । विदेशमा गैरआवासीय नेपालीहरुले प्राप्त गरेको स–साना पुँजी र सीपलाई नेपालको समृद्धिमा लगाउने उदेश्यले आवश्यक ऐन कानून बनिसकेका छन् । यद्यपी केही कानूनहरु बन्ने क्रममा रहेका छन् ।

गैरआवासीय नेपालीहरुको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन् । संघमार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई पनि उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।

विश्वभर फैलिएको कोरानो भाइरसको महामारी लगायत मुलुकले सामना गरेका निकै संकटपूर्ण घडी चाहे ती प्रकृतिक प्रकोप हुन् वा मानविय संवेदनासँग जोडिएका कयौँ अप्ठ्याराहरु हुन् वा नेपाली भूमिमा वैदेशिक हस्तक्षेपका विरुद्धमा नै किन नहोस् संघको छातामुनि रहेर संसारभरका नेपाली मातृभूमिको पक्षमा उभिँदै आएका छन् ।

वैदेशिक रोजगारीसम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न सफल भएका छौँ ।

कोरोना महामारीमा गैरआवासीय नेपाली संघको भूमिका एक अग्नि परीक्षा थियो । महामारीका बीच संघले विदेशमा ५० भन्दा बढी देशमा रहेका दुई लाख भन्दा बढी नेपालीलाई सहयोग र उद्धार गर्न सफल भएको छ । महामारीले गैरआवासीय नेपाली संघको भूमिका र प्राथामिकतालाई समेत बदलिदिएको छ । संघले सञ्चालन गरेको राहत तथा उद्दार कार्यक्रमको नेतृत्व लिइ २ लाखभन्दा बढी नेपालीलाई प्रत्यक्ष सहयोग गर्न पाउनु मैले अवसरको रुपमा लिएको छु ।

मेरै नेतृत्वमा नेपालमा स्वास्थ्यसम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्स्नरटेटर पठाइयौं भने ७ वटै प्रदेशमा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना हुँदैछ ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर कयौँ नेपालीहरु रित्तो हात नेपाल फर्किएका छन् । हजारौँको संख्यामा नेपालीहरुले जागिर गुमाएका छन् । उनीहरुको पुर्नएकीकरण एवं नेपालमै क्षमताअनुसारको रोजगारी सिर्जना गर्न नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने ठूलो जिम्मेवारी हामीमाझ छ ।

गैरआवासीय नेपाली संघको ९ औँ महाधिवेशनमा हामीले गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको छ । संघको पुर्नसंरचनाका लागि सुरुआत भएका नविनतम कार्यलाई संस्थागत गर्न चुनौतीहरु थपिएका छन् । संघको अभियानमा देखिएका कयौँ चुनौतीकाबीच विश्वभरिका धेरै एनआरएन साथीहरूसँगको घनीभूत अन्तक्र्रियापछि १० औँ महाधिवेशन तथा विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ मा विश्वभर रहेका गैरआवासीय नेपालीहरुको सहयोग र साथको अपेक्षा गर्दै संघको अध्यक्ष पदमा विजयी भएपछि निम्नानुसारको काम प्रतिबद्धता व्यक्त गर्दछु ।

१) व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी

क) वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित,मर्यादित र सुरक्षित बनाउन नेपाल सरकार, गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गरिनेछ ।

ख) वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई अभिमुखीकरण तालिमको सञ्चालन गरिनेछ ।

ग) विदेशको श्रम बजारमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्शन फण्डमा सहभागी गराउन पहल गरिनेछ ।

घ) अन्र्तराष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरि छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गरिनेछ । नेपाल सरकारको वैदेशिक रोजगार कल्याणकारी कोषलाई श्रमिकको समस्या समाधानमा प्रभावकारी ढंगले प्रयोग गर्न पैरवी गरिनेछ ।

ङ) विदेशमा रोजगारी गुमाई नेपाल फþर्किएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उनीहरुको सीप र क्षमता अनुसार नेपालमै रोजगारीको अवसर दिलाउन नेपाल सरकारसँग समन्वय गरिनेछ ।

च) कोरोना महामारीको कारणले वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका नेपालीको अभिलेख तयार गरी उनीहरूलाई उत्पादनमूलक क्षेत्रमा सहभागी गराउन नेपाल सरकारको सहकार्यमा ‘आफ्नै माटो, स्वावलम्बी बाटो’ अभियान सञ्चालन गरिनेछ ।

छ) रोजगारीका सिलसिलामा मध्यपूर्व, मलेसिया लगायत जुनसुकै क्षेत्रमा रहेका महिला कामदारहरूको सुरक्षित, मर्यादित र सम्मानजनक रोजगारीका निम्ति विशेष कूटनीतिक पहलका लागि नेपाल सरकारसँग सहकार्य गरिनेछ ।

ज) वैैदेशिक रोजगारमा जाने नेपालीहरुको न्यूनतम तलव अन्तर्रष्ट्रिय मापदण्ड अनुसार बनाउन नेपाल सरकार र गन्तव्य मुलुकबीच संवादको लागि पहल गरिनेछ ।

झ) वैदेशिक रोजगारीका क्रममा रहेका नेपाल दाजुभाई तथा दिदीबहिनीहरुले भोग्नुपरेको समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्ले खडा गरेको कोष थप वृद्धि गरि एनसीसीहरुमार्फþत कार्यक्रम सञ्चालन गरिनेछ ।

ञ ) श्रम स्वीकृति नविकरण, बीमा नविकरण तथा श्रम सम्बन्धि अन्य समस्या समाधानको लागि नेपाल आउने बाध्यकारी अवस्थालाई अन्त्य गर्न विदेशमा रहेका नेपाली नियोगमार्फत नै गर्ने प्रबन्ध मिलाउन पहल गरिनेछ ।

ट) अत्यधिक जोखिमपूर्ण रोजगारीमा जाने व्यक्तिहरुलाई विशेष बीमाको व्यवस्थापन गर्न सरकारसँग नीतिगत रुपमा पहल गरिनेछ ।

ठ) वैैदेशिक रोजगारीका क्रममा मृत्यु भएका तर कागजी प्रक्रिया नपुगेका नेपालीहरुको अलपत्र शव नेपालमा ल्याउन लाग्ने आर्थिक खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने नीतिगत व्यवस्था गर्न पहल गरिनेछ ।

ड) युरोपेली, अमेरिकी ओसेनीया क्षेत्र एवं जापान, हङकङ, दक्षिण कोरिया लगायतका देशसहित नयाँ आकर्षक श्रम गन्तव्यको पहिचान गरी सम्वद्ध देशसँग श्रम सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गरिनेछ ।

२. नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड

क) नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइनेछ । र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपोओ मार्फत) जोडिनेछ ।

ख) नेपालमा लगानीको क्षेत्र पहिचान गरि सुरक्षित लगानी प्रवर्धनका लागि नेपाल सरकारको संघदेखि प्रदेश र स्थानीय तहसँग सहकार्य गरिनेछ ।

ग) वैदेशिक रोजगारीमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगानीका लागि प्रोत्साहन गरिनेछ र त्यसका लागि लगानीका क्षेत्र पहिचान गरिनेछ ।

घ) गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्वद्ध वित्तीय निकायहरूबाट लगानीको व्यवस्था गरिनेछ । ‘संयुक्त स्टार्टअप’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने र क्रमशः कार्यान्वयन गरिनेछ ।

ङ) गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धि सम्झौता गर्न सरकारसँग पहल गरिनेछ ।

३) संस्थागत पुर्नसंरचना एवं सुदृढीकरण

क) संशोधित विधानमा ल्याइएका नयाँ प्रस्तावहरु पूर्ण कार्यान्वयनमा ल्याइनेछ ।

ख) हाल ४० प्रतिशतले वृद्धि भएको संघको पञ्जिकृत सदस्यतालाई वृद्धि गर्दै विश्वभर छरिएर रहेका नेपालीलाई एकैसुत्रमा बाँध्ने गरि सदस्यता विस्तार गरिनेछ ।

ग) गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै उठाएको १८३ दिन भन्दा बढी विदेशमा बस्ने नेपालीहरुलाई गैरआवासीय नेपाली परिभाषित गर्ने तथा विद्यार्थीहरुलाई पनि गैरआवासीय नेपालीको परिभाषाभित्र समेट्न पहल गरिनेछ ।

घ) सदस्यता, प्रतिनिधि चयनसँग सम्बन्धित तथा निर्वाचनजन्य असहजताहरूलाई सम्बोधन गर्दै स्वतन्त्र, अधिकारसम्पन्न सदस्यता तथा प्रतिनिधि व्यवस्थापन आयोग र न्यायिक आयोग गठन गरिनेछ । आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइनेछ र निर्वाचन पद्दतीलाई पुनरावलोकन गर्ने व्यवस्था मिलाइनेछ ।

ङ) संस्थाको निर्वाचनमा विश्वभरका सबै पञ्जिकृत सदस्यले मतदान गर्न सक्ने व्यवस्थालाई विधानतः सरल र सहज बनाउन पहल गरिनेछ ।

च) गैरआवासीय नेपाली सदस्यता लिएका व्यक्तिहरुलाई नेपालभित्र र विदेशमा विभिन्न क्षेत्रमा सहुलियत सुविधाका कार्यक्रमहरु ल्याइनेछ ।

६) अघिल्लो कार्यकालमा शुरु गरिएको स्मार्ट एनआरएनए प्रोग्राम सुधार गर्दै पूर्णता दिइनेछ । एनसीसीमा देखिएका सदस्यता वितरण र निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र बनाउन फेस भेरिफिकेसन प्रणालीलाई अनिवार्य बनाइनेछ ।

४) गैरआवासीय नेपालीका हक हित अधिकार

क) नेपाल सरकारले संविधानमा व्यवस्था गरेका तर कार्यान्वयनमा आउन बाँकी गैरआवासीय नागरिकता लगायतका अन्य व्यवस्थालाई कार्यान्वयनमा ल्याउन परिणाममुखी पहल गरिनेछ ।

ख) विदेशमा बस्ने नेपालीहरुलाई राजनीतिक अधिकारसहित विदेशबाटै मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।

ग) गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउन नेपाल सरकारसँग पहल गरिनेछ ।

घ)नेपालीहरुको बाक्लो उपस्थिति भएका देशहरुमा दुतावास स्थापना गर्न तथा दुतावास स्थापना गर्न सम्भव नभएका मुलुकमा कन्सुलेट कार्यलयको व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराइनेछ । विदेशमा रहेका नेपालीहरुलाई नेपाल सरकारको सुविधा उपलब्ध गराउन प्रयास गरिनेछ ।

ङ) नेपाल मुल भएका तर पुस्तौंदेखि विदेशमा नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइलगायतका मुलुकमा रहेका ) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानूनी आधारसहित नेपालसँग जोड्ने प्रयत्न गरिनेछ ।

च) राष्ट्रिय समन्वय परिषद्बाट निर्वाचित अध्यक्षलाई नेपाल सरकारको अवैतानिक वाणिज्य दूतको रुपमा मान्यता दिन नेपाल सरकारसँग पहल गरिनेछ ।

छ ) बेलायत लगायतका विभिन्न देशमा कार्यरत भूपुगोर्खाहरुले उठाउँदै आएको समान पेन्सन र अधिकारको मागलाई पूरा गर्न संस्थागत रुपमा विशेष पहल गरिनेछ ।

५ ज्ञान, सीप र प्रविधिसहितको एनआरएन

क) संशोधित विधानमा व्यवस्था भएको एनआरएनए पेशागत तथा प्राज्ञिक इकाइ स्थापना गरी सक्रिय रुपमा सञ्चालन गरिनेछ ।

ख) ज्ञान तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामुलक बनाई निरन्तरता दिइनेछ ।

ग) नेपाल पोलिसी इन्स्टिच्युटलाई दक्षिण एसियाली स्तरको थिंक ट्यांकका रूपमा अघि बढाइनेछ र आगामी वर्ष एक विशेष सम्मेलनको आयोजना गरिनेछ । विषयगत जर्नल प्रकाशन गरिनेछ ।

घ) अन्तर्राष्ट्रिय थिंक ट्यांकहरूसँग सहकार्य लगायतका गतिविधि अगाडि बढाएर नेपाल बौद्धिक प्रतिभाहरूको मुहान र गन्तव्य दुवै हो भन्ने सन्देश प्रवाह गरिनेछ ।

ङ) विदेशमा हासिल गरेको अनुभवका आधारमा नेपालका विविध क्षेत्रमा आवश्यक नीतिगत सुझाव तयार गरी नेपालका सम्बन्धित निकायलाई उपलब्ध गराइनेछ ।

६) एनआरएनए फाउण्डेशन

क) राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थाहरूसँग आवधिक कार्ययोजनाका साथ सहकार्य गरिनेछ।

ख) सहयोगपूर्ण सहभागिता र योगदान एवं कदर लगायतका विभिन्न स्कीमहरू ल्याइनेछ ।

ग) फाउन्डेसन सचिवालय सुदृढीकरण तथा अन्तर्राष्ट्रिय कार्यालयहरूको स्थापना गरिनेछ ।

घ) नेपालमा स्वयंसेवाका लागि संसारभरका युवालाई आकर्षित गर्न विशेष प्याकेजसहितका कार्यक्रम ल्याइनेछ ।

ङ फाउण्डेशनलाई नेपाल बाहिर पनि स्थापना गरी विस्तार गरिनेछ ।

७। नेपाल एवं नेपाली पर्यटन प्रवर्धन

क) नेपाललाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न पुलको रुपमा भूमिका निर्वाह गरिनेछ ।

ख) नेपाली पर्यटन व्यवसायीहरूसँग सहकार्य गरी गैरआवासीय नेपाली एवं विदेशमा रहेका दोस्रो पुस्ताका लागि विशेष प्रोत्साहन प्याकेज ल्याइनेछ ।

ग) नेपाल सरकारले पर्यटन गन्तव्यका रुपमा अघि सारेका स्थानमा पर्यटन प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरिनेछ ।

घ) कोरोना महामारीका कारण प्रभावित पर्यटन प्रवर्धनलाई सकारात्मक सन्देश प्रवाह गर्दै पुनः स्थापित गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम गरिनेछ ।

ग) विदेशमा नेपाली सामान प्रवद्र्धनका लागि ८५ वटै देशमा गैर–आवासीय नेपालीहरूको सञ्जाललाई प्रयोग गरिनेछ । नेपालबाट निर्यात हुने सामानमा विकसित देशहरूले दिने भन्सार छुट सहुलियत ९त्बह ँचभभ० लाई अधिकतम सदुपयोग गरी नेपालको निर्यात क्षमता वृद्धि गर्दै व्यापार घाटा न्यूनिकरणमा योगदान पु¥याइनेछ ।

८) युवा, महिला तथा दोस्रो पुस्ता

क) गैरआवासीय नेपालीको दोस्रो पुस्तालाई नेपालसँग जोड्न र अपनत्व महसुस गराउन विभिन्न कार्यक्रम गरिनेछ ।

ख) युवा र महिलालाई एकजुट रूपमा नेपालसँग जोड्न विशेष कार्यक्रम बनाई वार्षिक क्यालेन्डरमै समेटिनेछ । यसका लागि ‘एनआरएन युथ मिट’ र ‘अन्तर्राष्ट्रिय महिला सम्मेलन’ आयोजना गरिनेछ ।

ख) गैरआवासीय नेपाली खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताको सुनिश्चितता गरिनेछ ।

ग) गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठान स्थापनालाई अघि बढाइनेछ ।

घ) दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघमा आबद्द गर्न विधानमा संरचना ल्याइनेछ ।

९) अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्य

क) कोरोना लक्षित राहत तथा उद्दारका कार्यक्रम अघि बढाउन संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)सँग गरिएका सम्झौतालाई कार्यान्वयन गर्दै थप कार्यक्रम ल्याइनेछ ।

ख) नेपाल फर्किएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय संघ—संस्थाहरुसँग सहकार्य गरि स्वदेशमै स्वरोजगार बनाउन विभिन्न कार्यक्रम ल्याइनेछ ।

ग) आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गरिनेछ ।

अन्त्यमा, तपाईहरुको साथ समर्थन विश्वास र भरोसासहितको अमूल्य मतको लागि अनुरोध गर्दै यसपटकको नेतृत्व गर्ने अवसर दिनुहुन हार्दिक अपिल गर्दछु ।
भवदीय,
डा.बद्रीकेसी
अध्यक्ष पदका उम्मेद्वार
५ अक्टोबर, २०२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?