नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ को तयारी तीव्र, मे ३० बाट सुरु हुने

-


     जनहित न्युज    
     वैशाख १२ गते २०८३


गैर आवासीय नेपाली संघ नागोयाको आयोजनामा आगामी मे ३० देखि जुन १ सम्म जापानको नागोयामा चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ रूपमा आयोजना हुने भएको छ।

जापानको नागोया शहरस्थित साकायको हिसाया डोरी पार्क (एडियन हिसाया प्लाजा) मा आयोजना हुन लागेको यस फेस्टिभलको तयारीलाई आयोजकले निकै तीव्रता दिएका छन्। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानका अनुसार नेपाल र नेपालीको पहिचानलाई जापानी समुदायमाझ चिनाउन यो महोत्सव एउटा महत्वपूर्ण अवसर हुनेछ।

महोत्सवलाई विशेष बनाउन नेपालका मौलिक पहिचान बोकेका ढिकी, जातो जस्ता परम्परागत सामानहरूको प्रदर्शनी गरिने मूल आयोजक समितिका संयोजक भेषनाथ गौतमले जानकारी दिनुभएको छ। यस पटकको फेस्टिभललाई ‘हाइटेक प्रविधि’ मार्फत स्क्रिनमा प्रत्यक्ष गतिविधि र पर्यटन प्रवर्द्धनका भिडियोहरू प्रदर्शन गरी थप प्रभावकारी बनाइने योजना रहेको छ।

आर्थिक संयोजक दिपक कार्कीका अनुसार फेस्टिभलबाट संकलित बचत रकम नागोयामा निर्माण गर्ने लक्ष्य राखिएको ‘नेपाली घर’ का लागि खर्च गरिनेछ। सांस्कृतिक पक्षलाई मजबुत बनाउन संयोजक सोनाम दोर्जे शेर्पाको नेतृत्वमा पञ्चे बाजा, विभिन्न जनजातिका झाँकी र स्थानीय कलाकारहरूको प्रस्तुतिलाई प्राथमिकता दिइएको छ।

कार्यक्रममा आइची प्रिफेक्चरका गभर्नर, नागोया सिटीका मेयर र नेपाली राजदूत लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ। खानाका स्टलहरू बुकिङ भइसकेको र अन्य स्टलहरूको व्यवस्थापन कार्य जारी रहेको स्टल व्यवस्थापन समितिका संयोजक सिपी भुषालले जानकारी दिनुभएको छ। बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने यस महोत्सवमा प्रवेश निःशुल्क गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?