ओली सच्चिएर आए चुनावमा तालमेल हुन सक्छ,नयाँ पार्टी बनाउँछौ : माधव नेपाल

-


     जनहित न्युज    
     भाद्र १ गते २०७८


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ शक्ति निर्माणमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् काठमाडौंमा मंगलबार जनवर्गीय संगठनले गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’ “ओलीले गल्ती स्वीकार गरेर आए जहिले पनि एकताको ढोका खुला हुनेछ नभए चुनावमा तालमेल पनि हुन सक्छ, तर सच्चिएर आउनुपर्‍यो,” उनले भने ।

 नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको भन्दै केपी ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका छन् । “आजै केपी ओलीले एउटा काम के गर्नुभयो भने प्रकाश ज्वाला कमरेडलाई पार्टीबाट निकाल्नुभयो,” नेता नेपालले भने, “२०३ जनाको केन्द्रीय कमिटीबाट २६० जना बनाउनुभयो । माधव नेपाल, रामकुमारी झाँक्रीसहित १४ जनालाई पदमुक्त गर्नुभयो । पार्टीभित्र हामी गम्भीर अवस्थामा उभिएका छौँ ।”

नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए । “त्यही बीचमा घनश्याम भुसाल आएर एकताको लागि अन्तिम प्रयास गर्छु भन्नुभयो । ओलीसँग अन्तिम छलफल गर्न भनेर मैले उहाँलाई पठाएँ । ओलीले आजसम्म गरेका सबै निर्णय फिर्ता लिने र पहिले दिएका सबै बचन पूरा गरेमा एकता गर्न सकिन्छ नि भनेर भुसालले सोध्नुभयो । मैले हुन्छ भनेँ । तर त्यसअघि नै कारवाही भइसकेछ,” उनले भने, “भन्न त केपी ओली भनिसक्नुभएको छ । माधव नेपाल लगायतको निम्ति ढोका बन्द भइसक्यो । उहाँले गद्धारको उपाधि दिनुभयो । देशद्रोही भन्नुभयो । आत्मालोचना गर्न तत्परता देखाउनुभएन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?