एमसीसीका उपाध्यक्ष फातिमा सुमारसहितको टोली राजनीतिक भेटघाटमा, पहिलो भेट ओलीसँग, यथास्थितीमा एमसीसी पास हुदैन- माओवादी केन्द्र

-


     जनहित न्युज    
     भाद्र २४ गते २०७८


अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथ ब्रुक्ससहितको टोली काठमाडौं आइपुगेको छ । टोलीले आजैबाट राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

चारदिने भ्रमणका लागि नेपाल आइपुगेको उक्त टोलीले सबैभन्दा पहिले विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने बताइएको छ । ओलीलाई भेट्न उक्त टोली भक्तपुर बालकोटस्थित निवासमा दिउँसो पुग्ने बताइएको छ। ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ।

विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने अभ्यास छ । तर, फातिमा र जोनाथले राजनीतिक भेटवार्ताको थालनी एमाले अध्यक्ष ओलीबाट गर्न लागेका हुन् । धेरैले यसलाई अर्थपूर्णरूपमा हेरेका छन् ।

भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ।

नेपालको चारदिने भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन्।

एमसीसीलाई लिएर देशमा चर्को विवाद छ । यसलाई सर्लक्कै स्वीकार्नु हुन्न भन्ने जनमत व्यापक छ । राजनीतिक दलहरूसमेत विभाजित छन् । यहाँसम्म कि, फातिमा र जाेनाथन ओर्लिँदै गर्दा त्रिभुवन विमानस्थलबाहिर एमसीसीविरुद्ध प्रदर्शन भइरहेको थियो । यस्तो उष्ण परिस्थितिमाझ उनीहरूले राजनीतिक भेटघाट गर्न लागेका हुन् । 

यथास्थितीमा एमसीसी पास हुदैन- माओवादी केन्द्र

यसै बिच नेकपा माओवादी केन्द्रले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको छ ।

माओवादी प्रमुख सचेतक देव गुरुङले भने, ‘हाम्रो पार्टीको बटमलाइन स्पष्ट छ । संसोधन र परिमार्जनबिना एमसीसी सम्झौता पारित हुन सक्दैन ।’

नेपालको प्रश्न एमसीसीको जवाफ 

प्रश्न १ : एमसीसीसँग सम्झौताको पछाडि नितान्त निःस्वार्थ सहयोग रहेको थियो भन्ने आधार के छ ? 

जवाफ– एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो । नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्र गतिमा सुधार गर्नु रहेको छ । एमसीसी नेपाल कम्प्याक्ट, नेपाल सरकारले नै देशको आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण ठहर्‍याई चयन गरेका विद्युत् प्रसारण र सडक मर्मतसम्भार परियोजनाहरू सम्पन्न गर्नका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो । कम्प्याक्टका सर्तहरूको उल्लंघन हुने गरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्नु पर्दैन । 

प्रश्न २ : नेपाल प्राथमिकतामा पर्नुको कारण सैन्य रणनीतिअन्तर्गत होइन भन्ने आधार के छ ? 

जवाफ– प्रथमतः एमसीसीलाई लागू हुने अमेरिकी कानुन (मिलेनियम च्यालेन्ज ऐन–२००३) ले कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ । यस कानुनी बन्देजका बारेमा कम्प्याक्टमा स्पष्ट छ । तसर्थ, यस कम्प्याक्ट र कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीचमा कुनै सम्बन्ध छैन । एमसीसीको सञ्चालक समितिबाट कुनै पनि देश छनोटका लागि योग्य हुन (१) विश्व बैंकद्वारा न्यून–मध्यम आय भएको देशका रूपमा वर्गीकृत भएको हुनुपर्छ र (२) न्यायसंगत र लोकतान्त्रिक शासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचकांकको स्कोरकार्डमा उत्तीर्ण हुनुपर्दछ । 

प्रश्न ३ : एमसीसीसँग सम्झौता नेपालको आफ्नो आवश्यकता र नेपालकै मागबमोजिम भएको हो ? 

जवाफ– नेपालको आफ्नै प्रसारण लाइन गुरुयोजना सन् २०१५ को दस्ताबेजले पहिचान गरेको तथा पछि प्रसारण लाइन विकास योजना सन् २०१७ ले समेत आवश्यकताका रूपमा पुनः पुष्टि गरेको प्रसारण लाइनलाई नै एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएको थियो । नेपालको विकासमा उक्त परियोजनाको महत्त्वलाई स्वीकार गर्दै एमसीसी नेपाल कम्प्याक्ट विद्युत् प्रसारण परियोजनालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको हो । 

प्रश्न ४ : अमेरिकाले दिने नेपालले लिने सामान्य प्रकारको अनुदानलाई ‘अन्तर्राष्ट्रिय सम्झौता’ भन्नुपर्ने आवश्यकता किन पर्‍यो ? तर, अन्तर्राष्ट्रिय सम्झौता भनी एमसीसी सम्झौता समावेश गरी नेपालको संविधान र कानुनलाई कमजोर पार्न खोजेको देखिन्छ । सम्झौताको दफा नम्बर ७.१ अनुसार त्यो होइन भन्ने आधार के छ ? 

जवाफ– नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । सबै एमसीसी साझेदार देशहरूसँग सम्पन्न भएका एमसीसी कम्प्याक्ट अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तद्वारा निर्देशित अन्तर्राष्ट्रिय सम्झौता हुन् । कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुनको कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुनअनुसार अगाडि बढ्ने भन्ने हुन्छ । त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनहरू कम्प्याक्टमा भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधानबमोजिम कार्यान्वयन हुन्छन् ।

प्रश्न ५ : कैयन् विकास निर्माण तथा लगानीसम्बन्धी सम्झौताहरू संसदीय अनुमोदनका लागि आवश्यक देखिएनन् । यो सम्झौतालाई अनुमोदन किन आवश्यक पर्‍यो ? 

जवाफ– नेपाल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत कम्प्याक्ट अन्तर्राष्ट्रिय सम्झौता हुनका लागि नेपाल कानुनअनुसार संसदीय अनुमोदन आवश्यक छ भन्ने निष्कर्ष निकालेको थियो । 

प्रश्न ६ : सम्झौताको संसदीय अनुमोदन भएपछि सम्झौताका अंश वा परियोजनामा हुने संशोधनलाई संसदीय अनुमोदन किन आवश्यक नपर्ने हो ? 

जवाफ– एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी र नेपाल सरकार अन्य निकायलगायत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसहितको बृहत् छलफलपश्चात् सन् २०१७ को सेप्टेम्बर (२०७४ भदौ) मा सम्पन्न भएको हो । हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन । 

प्रश्न ७ : के एमसीसी आईपीएसको मातहत छ ? 

जवाफ– होइन, एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । अमेरिका र नेपालबीचको बलियो सम्बन्ध हिन्द–प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो । 

प्रश्न ८ : के नेपाल आईपीएसको सदस्य भएको छ वा सदस्य हुन मिल्छ ? 

जवाफ– एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन । एमसीसी कम्प्याक्टहरू एमसीसी र साझेदार सरकारबीचका सम्झौता हुन् । हिन्द–प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनै पनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहन्छ । 

प्रश्न ९ : एमसीसी सन् २००४ मा बनेको तर आईपीएस सन् २०१७ मा बनेको कसरी मातहत हुन सम्भव छ ? 

जवाफ– एमसीसीको स्थापना सन् २००४ मा कानुनी शासन, जनतामाथि लगानी र आर्थिक स्वतन्त्रता जस्ता लोकप्रिय मूल्यप्रति कटिबद्ध देशहरूको आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण केन्द्रित रहने गरी भएको हो । एमसीसी नेपाल कम्प्याक्ट हिन्द–प्रशान्त रणनीति मातहतको सम्झौता होइन, न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा नै हो । 

प्रश्न १० : एमसीसी कम्प्याक्टपछि गरिएका सम्झौताहरू किन सार्वजनिक नभएका हुन् ?

जवाफ– एमसीए–नेपालको सञ्चालन नेपाली सरकारी अधिकारीहरू तथा नेपालको निजी क्षेत्र, नागरिक समाज र सामुदायिक नेतृत्वका सदस्यहरू सम्मिलित सञ्चालक समितिबाट हुन्छ । सन् २०१९ सेप्टेम्बर २९ मा हस्ताक्षर गरिएको कार्यक्रम कार्यान्वयन सम्झौता हस्ताक्षर भएको मितिदेखि नै एमसीए–नेपालको वेबसाइटलगायतमा सार्वजनिक रूपमा उपलब्ध छ । 

प्रश्न ११ : सम्झौतामा भएका निम्न दफावार विवादित विषयलाई कसरी प्रस्ट पार्नुपर्छ ? सम्झौताको दफा २.८ अनुसार विदेशीस्तरको पारिश्रमिक सुविधा प्राप्त गर्ने आयोजनामा काम गर्ने कसैलाई पनि कुनै पनि प्रकारको करबाट मुक्त गर्नु कति न्यायोचित मान्न सकिन्छ ? 

जवाफ– अनुदानको ५० करोड अमेरिकी डलर रकम नेपाली जनताको हितमा परियोजनाहरूको कार्यान्वयन गर्नका लागि उपलब्ध गराउन कम्प्याक्टको कर छुटसम्बन्धी प्रावधानले सुनिश्चित गर्दछ । 

  • २६ प्रतिशत लगानी नेपालको पनि हुने तर त्यसबाट हुने बौद्धिक ज्ञान सम्पूर्ण रूपमा एमसीसीको हुने कुराले नेपालको सम्प्रभुतामा आँच पुर्‍याउँदैन र ? 

जवाफ– कम्प्याक्ट कार्यक्रमका सम्बन्धमा सिर्जित भएको सम्पूर्ण बौद्धिक सम्पत्तिमा नेपाल सरकारको स्वामित्व हुन्छ । यस्तो बौद्धिक सम्पत्तिमा एमसीसीको कुनै पनि स्वामित्वको हक हुँदैन । 

  • अमेरिकाको वर्तमानमा भएको कानुन र भविष्यमा बन्ने नीतिको उल्लंघन भएका सम्झौता अन्त्य गर्ने भन्ने प्रावधानले नेपालको आफ्नो अस्तित्व, सार्वभौम अधिकार नै अमेरिकी नियन्त्रणमा परेको देखिनाले सम्प्रभुतामाथि आँच आएको देखिँदैन ? 

जवाफ– अमेरिकाका कानुन वा नीतिको उल्लंघन गर्ने कुनै पनि कार्यका लागि एमसीसीको अनुदान प्रयोग गर्न पाइँदैन भन्ने कुरा दफा ५.१ (ख) (३) ले जोड दिएको छ । उक्त दफाको उद्देश्य एमसीसी अनुदानको उपयोगको सन्दर्भमा सीमित गर्नु मात्रै हो तर एमसीसीबाहेकका अन्य सहायताको हकमा नेपाल सरकारको सार्वभौमिकतामाथि कुनै बाध्यता वा सीमितता सो दफाले सिर्जना गर्दैन । 

  • नेपालको प्रशासन व्यवस्था र अनुगमन प्रणालीको कमजोरीलाई लिएर नेपालको कानुन, शासन व्यवस्था र सार्वभौमिकतालाई नै असर गर्ने गरी सो सम्झौतालाई अन्तर्राष्ट्रिय कानुन भन्नुको पछाडिका कारण के हुन् ?

जवाफ– नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ । कम्प्याक्टलाई अन्तर्राष्ट्रिय सम्झौताको स्तरमा राखिनुको प्रभाव भनेको स्थानीय कानुन कुनै निश्चित प्रावधानसँग बाझिने विरलै अवस्थामा बाहेक, कम्प्याक्ट परियोजनाहरूको कार्यान्वयन नेपालको कानुनअनुसार अगाडि बढ्ने भन्ने हुन्छ । त्यस्तो विरलै अवस्थामा कम्प्याक्ट परियोजनाहरू कम्प्याक्ट भएका आपसी सहमतिका सर्तहरू र नेपालको संविधानबमोजिम कार्यान्वयन हुन्छन् ।

  • सम्झौताको दफा ७.१ अनुसार सम्झौतासँग नेपालको कानुन बाझिएको हदसम्म नेपालका कानुन अमान्य हुने व्यवस्थाले हाम्रो सार्वभौमिकतामा के असर पर्छ ? 

जवाफ– नेपालको संविधान एमसीसी नेपालको कम्प्याक्टभन्दा सधैं माथि हुन्छ । यसका अतिरिक्त नेपाल सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमार्फत एमसीसी नेपाल कम्प्याक्ट दफा ७.१ लगायत सबै प्रावधानहरूको समीक्षा गरी कम्प्याक्टका प्रावधानहरू नेपालको कानुनसँग बाझिएका छैनन् भन्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?