जापानबाट गायिका बाला दुराको ‘लमजुङे सोल्टिनी’ सार्वजनिक: प्रवासमा बसेर नेपाली लोक संगीतको जगेर्ना

-


     जनहित न्युज    
     चैत्र २३ गते २०८२


टोकियो, जापान – जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएकी लोकप्रिय गायिका बाला दुराले नयाँ लोक दोहोरी गीत ‘लमजुङे सोल्टिनी’ को म्युजिक भिडियो बजारमा ल्याएकी छिन्। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली लोक कला र संस्कृतिको उत्थानमा सक्रिय दुराले आफ्नो पछिल्लो सिर्जना आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

वरिष्ठ सर्जक शिव हमालको उत्कृष्ट शब्द र मौसम गुरुङको संगीतमा तयार पारिएको यस गीतमा गायिका दुरालाई गायक मौसम गुरुङले नै स्वरमा साथ दिएका छन्। ‘लमजुङे सोल्टिनी’ मा युवा जोडीबीचको निस्वार्थ प्रेम, सामिप्यता र भावनात्मक सम्बन्धलाई निकै सुन्दर ढंगले लोकलयमा उतारिएको छ। गीतको सुमधुर स्वर र आकर्षक संगीत संयोजनले आम दर्शक तथा स्रोताको मन जित्ने विश्वास लिइएको छ।

म्युजिक भिडियोमा गणेशमान घले, रजनी गुरुङ, मनोज गुरुङ र सिञ्जो दुराको उत्कृष्ट अभिनय देख्न सकिन्छ। कलाकारहरूको जीवन्त प्रस्तुतिले भिडियोलाई अझ रोचक र मौलिक बनाएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाकी प्रवक्ता समेत रहेकी गायिका दुरा लाइभ दोहोरी गायनमा पनि उत्तिकै अब्बल मानिन्छिन्। लमजुङको सांगीतिक धरातलमा जन्मिएकी उनले ‘सुन्दरबजार सत्रसय फाँट’ बाट आफ्नो सांगीतिक यात्राको श्रीगणेश गरेकी थिइन्। हालसम्म उनले तीजका गीत, सालैजो र मौलिक लोक दोहोरी गरी करिब एक दर्जन एल्बमहरूमा स्वर भरिसकेकी छिन्।

आफ्नै लगानीमा तयार पारिएको यस नयाँ सिर्जनाका बारेमा चर्चा गर्दै गायिका दुराले प्रवासको व्यस्त र चुनौतीपूर्ण जीवनशैलीका बीच पनि नेपाली गीत-संगीतको साधना गर्दा आफूलाई मानसिक सन्तुष्टि मिल्ने बताएकी छिन्। घरदेशभन्दा टाढा सात समुद्रपारि रहेर पनि आफ्नो भाषा, संस्कृति र नेपालीपनलाई जोगाइराख्नु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ। उनले ‘लमजुङे सोल्टिनी’ लाई सुनेर, हेरेर र च्यानल सब्स्क्राइब गरेर साथ दिनुहुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण संगीतप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गरेकी छिन्। साथै, आगामी दिनमा अझ परिष्कृत कार्य गर्नका लागि सकारात्मक सुझाव र प्रतिक्रियाको अपेक्षा समेत उनले राखेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?