
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलन मिलाप, ‘टुगेदर वी स्ट्याण्ड’ भन्ने नाराका साथ शुक्रवारदेखि ३ दिनसम्म हुदै छ । सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने आयोजक एनआरएनए थाइल्याण्डले जनाएको छ ।

बैंककको मिलिनियम हिल्टन होटलमा हुने सम्मेलनलाई श्रममन्त्री शेरबहादुर कुँवर, नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा, एमाले सांसद डा. सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतानलगायतले सम्बोधन गर्ने एशिया क्षेत्रीय संयोजक पारसमणी पोखरेलले जानकारी दिए ।

सम्मेलनमा चीन, म्यानमार, थाइल्याण्ड र मलेसियाका लागि नेपाली राजदूतहरु, व्यवसायी, संचारकर्मी, वर्तमान अध्यक्षहरु तथा पदाधिकारीहरु, पूर्वअध्यक्ष, नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति हुनेछ ।
नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले थाइल्याण्डका पर्यटन मन्त्रीलाई नै कार्यक्रममा सहभागी गराउने तयारी रहेको संघका अध्यक्ष भविन्द्र बस्नेतले जानकारी दिए ।

५० जनाभन्दा बढी वक्ता रहने सो गैरआवासीय नेपाली संघका मुख्य मुद्दाहरु नेपाली नागरिकताको निरन्तरता, मताधिकारको अधिकार, नेपालमा लगानी तथा महिला र युवाहरुका समस्या र समाधानको विषयमा सम्मेलन केन्द्रीत हुने संघका अध्यक्ष बस्नेतले जनाएको छ ।
सम्मेलनमा एसियाली मुलुकमा काम गर्ने नेपाली श्रमिकको विषयमा बहस हुनेछ । नेपालमा वैदेशिक लगानी भित्र्याउनेबारेमा पनि सम्मेलन केन्द्रित हुनेछ।

सो सम्मेलनमा विभिन्न विषयगत विज्ञहरुले आ-आफ्नो कार्यपत्र समेत प्रस्तुत गर्ने संघले जनाएको छ । सम्मेलनमा नेपालका चर्चित कलाकारहरुले समेत आ-आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, हाँस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुति रहनेछ ।

बैंकक भेलाले एनआरएनए एकतामा थप सुदृढ पार्ने बिश्वास
बैंकक सम्मेलनले गैरआवासीय नेपालीबीच आपसी एकता र सदभाव अभिवृद्धि गर्ने विश्वास अध्यक्ष बस्नेतको छ । ‘नाम नै ‘मिलाप सम्मेलन’ राखेका छौं । हामीलाई आशा छ यो बैंकक भेलाले एनआरएनए एकता थप सुदृढ पार्न मद्दत पुग्नेछ।’

बस्नेतले थाइल्याण्डमा गैरआवासीय नेपालीको संख्या न्यून भएपनि एसिया क्षेत्रको सम्मेलन आफूहरुले ‘होस्ट’ गर्न पाउँदा एकदमै खुसी लागेको र एनआरएनएमा देखिएको समस्या समाधानका लागि आइसब्रेक हुनेमा आफूहरू आशावादी रहेको समेत बताए ।
‘थाइल्याण्डमा हामी थोरै छौं। तर, पनि यति ठूलो सम्मेलन आयोजना गर्ने मौका पायौँ । यो हाम्रा लागि ठूलो अवसर पनि हो,’ उनले भने, ‘सम्मेलनलाई नाम अनुसारको मिलाप बनाउन हामीले अथक प्रयास गरिरहेका छौं ।’
यस्तो छ तीन दिने सम्मेलनको कार्यतालिका






