
दुःखमा जनतालाई नजिकबाट साथ दिने र विदेशीप्रति नरम नीति अक्तियार गरेका जापानका लोकप्रिय नेता तथा पूर्व प्रधानमन्त्री शिन्जो आबेको शुक्रबार गोली प्रहारबाट निधन भएको स्थानमा पुगेर नेपालीहरूले मृत आत्मको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पण गरेका छन ।
हत्या गरिएको स्थान नारा प्रान्तको किन्तेत्सु रेलवे कम्पनीको यामातो-साइडाइजी स्टेशन नजिकै आबे ढलेको ठाऊमा पुगी नेपाली जनप्रगतिशील मंच जापान कान्साइ क्षेत्रीय समिति र गलकोट समाज जापान कान्साइ क्षेत्रीय समितिको अध्यक्ष प्रकाश गैरेको टोलीले आइतबार मंच र समाजको नाम अंकित पुष्पगुच्छा अर्पण गरेका हुन ।

आफ़नो कर्म क्षेत्रका लोकप्रिय नेता तथा विदेशी नागरिकलाई समेत आफनै नागरिक सरह व्यवहार गर्ने गरेका जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको सम्मान र उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्न सो स्थानमा पुगेर जापानी आम नागरिकले जस्तै पुष्पगुच्छा अर्पण गरिएको मंच तथा समाजका अध्यक्ष प्रकाश गैरेले बताए ।
जापानसहित विश्वमा नै निकै लोकप्रियता कमाएका मृतक नेता आबेप्रति जापानी जनताको अद्भुत आस्था र विश्वास रहेको त्यहा श्रद्धाञ्जली अर्पण गर्न उपस्थित नागरिकहरूले भावविहोल अवस्थामा उनी ढलेको ठाउमा गरेको पार्थनाबाट अनुभूत गर्न सकिने मंचका सचिव गौरीशंकर गैरेले बताए ।

पुष्पगुच्छा अर्पण गर्नका लागि गैरेसहित मंचका सह कोषाध्यक्ष गौरी सापकोटा, समाजका उपाध्यक्ष सुमित खत्री, रामु साहनी, जगत थापा लगायतको उपस्थिति रहेको थियो ।
जापानको धार्मिक परम्परा अनुसार मृत्यु भएका व्यक्ति जुन स्थानमा मृत्यु हुन्छ सोहि स्थानमा मृत आत्मको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पण गर्ने गरिन्छ । निर्वाचनको प्रचारप्रसारको क्रममा भाषण दिइरहेका बेला पछाडिबाट बन्दुकधारी आक्रमणकारीले उनीमाथि बिहान ११:२५ बजे गोली प्रहार गरेको थियो।

पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट हानेको गोलीबाट घाइते भएका उपचारका लागि उनको हेलिकोप्टरबाट काशिहरा सिटीस्थित मेडिकल युनिभर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गोली प्रहार गर्ने नारा प्रान्तका ४१ वर्षीय तेत्सुया यामागामीलाई घटनास्थलबाटै पक्राउ गरि हाल अनुसन्धान भैरहेको छ ।

मृतक आबेको शव टोकियोस्थित आफनै घरमा राखिएको छ भने अन्तिम संस्कार मंगलबार गरिने बताईएको छ ।



