कास्की पोखरा समाज जापानद्वारा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन कार्यक्रम’ सम्पन्न

-


     जनहित न्युज    
     चैत्र १७ गते २०८१


टोकियो, जापान – कास्की पोखरा समाज जापानले जापानको राजधानी टोकियोस्थित उएनो पार्कमा ‘हानामी तथा पोखरा पर्यटन वर्ष प्रवर्द्धन तथा प्रचारात्मक कार्यक्रम’ आयोजना गरेको छ। सस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज तिवारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्य प्रमुख अतिथिको रूपमा अनलाइनमार्फत सहभागी भएका थिए।

विशेष अतिथिका रूपमा थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन रहनुभएको थियो भने, अन्य अतिथिहरूमा कास्की पोखरा समाज जापानका पूर्वअध्यक्षहरू, संरक्षकहरू, सल्लाहकारहरू तथा छिमेकी जिल्ला स्याङ्जाका ‘स्याङ्जा सहयोग समाज’ आईसीसीका अध्यक्ष विरेन्द्र जंग क्षत्री र उपाध्यक्ष मिन क्षत्री लगायत अन्य सम्माननीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य जापानमा बस्ने नेपाली समुदायलाई मात्र नभई सम्पूर्ण जापानी नागरिकलाई समेत कास्की र पोखराको पर्यटन प्रवर्द्धनमा सहभागी गराउने रहेको थियो। नेपाल भ्रमणका लागि जापानी नागरिकलाई प्रोत्साहित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको थियो।

प्रमुख अतिथि धनराज आचार्यले पोखरा भ्रमण वर्ष लक्षित कार्यक्रम आयोजना गरिएकोमा खुशी व्यक्त गर्दै संसारभर रहेका पोखरेलीहरू एकजुट हुनुपर्ने र आ-आफ्नो तर्फबाट सकेको योगदान गरी जन्मभूमिप्रति प्रेम दर्शाउनुपर्ने कुरामा जोड दिनुभयो।

त्यस्तै, विशेष अतिथि बुद्धि गौचनले कास्की पोखरा समाज जापानले आयोजना गर्ने हरेक कार्यक्रममा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउँदै, संस्थालाई हौसला प्रदान गर्नुभएको थियो।

एनआरएनए जापानका अध्यक्ष नविन न्युरेले पोखरा सहरलाई ‘अघोषित सदाबहार पर्यटन गन्तव्य’का रूपमा चर्चा गर्दै पोखराको पर्यटन प्रवर्द्धनमा सबैले योगदान दिनुपर्ने बताउनुभयो।

संस्थाका अध्यक्ष कमल बास्तोलाले कार्यक्रममा प्रकाश पार्दै जापानी नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रमका सञ्चालक तथा महासचिव जीवन पोखरेल (कञ्चन) ले कास्की पोखरा समाज जापानले यो कार्यक्रम जापानमा मात्र नभई विश्वभर चर्चित हुने गरी आयोजना गरिएको बताउँदै आगामी दिनहरूमा अन्य देशहरूमा पनि यस्ता कार्यक्रम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक मनोज तिवारीले उपस्थित सबैलाई धन्यवाद दिँदै संस्थाको मुख्य उद्देश्य जापानमा रहेका सबैलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नु रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबै सहभागी एवं आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक रूपमा समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?