गैर आवासीय नेपालीले राजनैतिक बाहेक सबै अधिकार प्राप्त गर्ने गरि अब नगरिकता पाउने छन- राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना(भिडियो सहित)

-


     जनहित न्युज    
     श्रावण १५ गते २०७९


गैर आवासीय नेपालीले राजनैतिक बाहेक सबै अधिकार प्राप्त गरिने गरि नागरिकता प्रदान गर्ने ऐन पारित भएकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खुशी व्यक्त गरेका छन ।
जापानको राजधानी टोकियोमा शनिबार नेपाल र नेपालको मौलिक पहिचानलाई जापानी समुदायका बिचमा परिचित गराइ नेपालमा जापानी पर्यटकहरूको बढ़ावा दिने, नेपाली खाना नेपाली पहिरन नेपाली प्रस्तुतीसँगै नेपालको संस्कृतिबारेमा जानकारी दिने उद्देश्यले आयोजित १२ औँ नेपाल फेस्टिवलको उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले गैर आवासीय नेपालीले पनि सहज रूपमा नागरिकता पाउने गरि हालै पारित नागरिकता विधेयक पास गराउन पाएकोमा खुशी व्यक्त गरेका हुन ।

जापानमा सिकेको ज्ञान सिपसहित आर्थिक लगानी नेपालमा लगाउनका लागि यस नगरिकता ऐनले सहज बनाउनेमा आदि विश्वस्त रहेको बताउदै अध्यक्ष तिमिल्सिनाले नेपालमा आर्थिक लगानी भित्राउनका लागि आवश्यक भूमिका निर्वाह गर्न एनआरएनए जापानलाई आग्रह समेत गरे ।
‘जापानी नागरिकलाई नेपाल भ्रमणमा आउन यस प्रकारका फेष्टिवलले सहयोग पुर्याउने नै छ’ अध्यक्ष तिमिल्सिनाले भने- “नेपाल फेष्टिवलमा सानो नेपाल देख्न पाएकोमा औधी खुशी लागेको र यसले हाम्रो भाषा संस्कृतिप्रति नया पुस्तामा हस्तान्तरण गर्न सहज बनाएको छ ।

१९५६ मा औपचारिक रूपमा सुरु भएको नेपाल-जापान कूटनीति सम्बन्धले आर्थिक तथा मानवीय सहयोगमा उल्लेखनिय सहयोग पुर्याइ जापानले आर्थिक सामाजिक र सांस्कृतिक पक्षमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
एनआरएनएमा देखिएको विवादतर्फ इंगित गर्दै अध्यक्ष तिमिल्सिनाले देशभित्र रहेको एकतालाई यहाँपनि लागु गर्न गरिनुपर्नेमा जोड दिदै भने- आन्तरिक मतभेद हटाई एनआरएनए जापानले सबैलाई एकता बद्द गराउदै लैजानु आजको आवश्यकता हो ।

फेष्टिवलमा इभेण्ट पाटनर, जापानका व्यावसायी तथा एनआरएनए आइसीसी सदस्य रोविन शेरचनले हाम्रो कला संस्कृतिलाई विदेशमा परिचित गराउन यस्ता कार्यक्रम उपयुक्त हुने भएकोले नेपाल सरकारले यसतर्फ लगानी गर्न आग्रह गरे ।


आउट सोर्सिङ कम्पनीका जापान प्रमुख साहो स्युइचीले जापानमा आउदा के पढ़ेर आउदा ठिक हुने भन्नेमा विद्यार्थीहरूलाई ध्यान दिन आग्रह गर्दै आफूलाई नेपाली खाना मन पर्ने र नेपालमै रहेर काम गर्न इच्छुक रहेकोले यस कार्यक्रमले नेपालप्रति सकारात्मक धारणा बन्नेमा आफू विश्वस्त रहेको बताए ।


कार्यक्रमको उदघाटन सत्रमा बोलदै नाकानो सिटी वार्डका प्रमुख साकाइ नाओतोले यस फ़ेस्टिवलमार्फत मौलिक खानाको चिनारीसंगै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बिश्वास आफूले लिएको बताए ।
जापानको परराष्ट्र मन्त्रालयका एसिया विदेश विभाग प्रमुख- कानो ताकिहिरोले नेपालको प्राकृतिक सम्पदा सबैको मन लोभ्याउने रहेको त्यहाको भ्रमण गर्नका लागि सबैलाई आग्रह गर्दै नेपाल र जापानको सम्बन्धले धेरै नेपाली जापान आउन पाएकोमा खुशी व्यक्त गरे ।


१२ औँ नेपाल फेस्टिवल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको उदघाटन सत्रमा नेपाली राजदूतवासका कार्यवाहक राजदूत अम्बिकाप्रसाद जोशीको स्वागत मन्तव्य र एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठ र महिला उपाध्यक्ष संगीता अधिकारी सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


जापानमा रहेका नेपाली समुदायका लागि गैरआवासीय नेपाली संघ जापानका सचिव एलिजा केसी भण्डारीले नेपाली भाषामा लेखेको भूकम्प पूर्व तयारी पुस्तिका पनि विमोचन गरिएको थियो ।
नेपालको परम्परा र संस्कृति झल्काउने विभिन्न झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको उक्त उद्घाटन समारोहमा टोकियोस्थित विभिन्न दूतावासका कूटनीतिक प्रतिनिधि तथा नेपालका लागि जापानका पूर्व राजदूत लगायत नेपाली तथा जापानी नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो ।


१२ औँ नेपाल फेस्टिवलको बारेमा नेपाली दूतावास टोकियो जापानले एक प्रेस विज्ञप्ती जारी गर्दै उदघाटन सत्रमा भएको विवरणको बारेमा जानकारी गराएको छ ।

Embassy-of-Nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?