भाद्र शुक्ल तृतीया अर्थात् तीज

-


     जनहित न्युज    
     भाद्र १४ गते २०७९


भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन्। तीज पर्व भाद्र शुक्ल, द्वितीयादेखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ । नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिलेदेखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । 

बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वास गरिन्छ।

आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । तीजको अघिल्लो दिन महिलाले मीठा भोजनका परिकार खाने र तीजको दिन नीराहार ब्रत बस्ने चलन छ । 

तीज ब्रतलाई अन्य ब्रतभन्दा फरक ढङ्गले लिने गरिन्छ । यसदिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिला महादेवको पुजा आराधनापछि मात्र फलफूल खाने गर्छन् । यसदिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइन्छ ।

विवाहिताले पति र छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताले असल पतिको कामनामा व्रत बस्ने परम्परा छ। काठमाडौंस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर र दोलखाको भीमेश्वरलगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्छ।

तीजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी ‘दर’ खाने गर्छन्। नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्ट पोखेर नाचगान गर्छन्।

तीजका बेला सौभाग्यका सूचक राता वस्त्र तथा आभूषण लगाउने चलन छ। तर अचेल दर खाने नाममा एक महिनाअघिदेखि तडकभडक गर्ने, तिजको गीतमा उच्छृंखल शब्दको प्रयोग गर्ने र भड्किला पोशाक लगाउने चलन बढेको भन्दै संस्कृतिका जानकार चिन्ता व्यक्त गर्छन्।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् । सरकारले तीजका अवसरमा आज सार्वजनिक बिदा दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?