एनआरएनए यूकेद्धारा बेलायतमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था गर्न माग

-


     जनहित न्युज    
     कार्तिक १३ गते २०७८


लण्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पेश गरेको छ ।

बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरे । ‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए । एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।

त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय सल्लाहकार कुल आचार्य,एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।

नेपाल–बेलायत समाजका पदाधिकारीको भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् । यहाँस्थित नेपाली राजदूतावासमा आज भएको भेटमा उनीहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सद्भाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले बताए । प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन समाजलाई सक्रियातापूर्वक लाग्न आग्रह गरे । भेटमा वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलगायत भ्रमणदलका सदस्य सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?