हामी अहिले एक यस्तो समयमा छौँ, जहाँ देशको आर्थिक विकासको मोडलमा गम्भीर बहस हुन जरुरी छ। तर, विडम्बना! हामी उमेरको बहसमा अल्झिएका छौँ। शहरमा षड्यन्त्रको राजनीति होइन, गाउँको अर्थतन्त्र निर्माणको बहस गरौं। को प्रधानमन्त्री बन्ने भन्ने होइन, विकासको सही दृष्टिकोण के हो भन्नेमा विमर्श गरौं। राजनीतिलाई विचार, विज्ञान र आध्यात्मिक चेतनाको अधीनमा राखौं, सामाजिक सञ्जालको पछि लागेर होइन।
अहिलेको ‘जेन्जी’ (Gen-Z) आन्दोलनको मूल कारण रोजगारी सिर्जना गर्न नसक्ने हाम्रो ‘थारो अर्थतन्त्र’ हो। मेरो पुस्ताले ३२ सालदेखि ७२ सालसम्मका धेरै आन्दोलन देख्यो— राजनीतिक स्वतन्त्रता, उन्नत संविधान र द्वन्द्व अन्त्यका लागि। तर, ती आन्दोलनले आर्थिक समृद्धि ल्याउन सकेनन्। भएका उद्योगहरू पनि नवउदारवादको नाममा सकिए।
उमेर होइन, विचारको नेतृत्व आवश्यक
हामी देशको आर्थिक विकासको मोडेलमा बहस गरौँ। उमेरको बहस बन्द गरौँ। शरीर, शहर र षड्यन्त्रको राजनीति होइन—गाउँको अर्थतन्त्र निर्माणको बहस गरौँ। को प्रधानमन्त्री बन्ने भन्ने होइन, विकासको सही दृष्टिकोणमा बहस गरौँ। राजनीतिमा विचारको नेतृत्व खोजौँ। राजनीतिलाई सामाजिक सञ्जालको अधिनमा होइन, विज्ञान र आध्यात्मिक चेतनाको अधिनमा राखौँ। नेताको होइन, उत्पादनको पूजा गरौँ। जमिन होइन, पूर्वाग्रहलाई बाँझो छोडौँ।
विदेश गएर दोस्रो दर्जाको नागरिक बन्ने होइन, नेपाल फर्किएर पहिलो दर्जाको नागरिक बनौँ। थुनेर, पिटेर जित्ने आन्दोलन होइन—बुद्धिले जित्ने आन्दोलन गरौँ। पुराना मानिसलाई होइन, पुरानो सोचलाई निषेध गरौँ।
किन हाम्रो पुस्ता समस्याको चंगुलमा पर्यो ?
३२ साल, ३६ साल, ४६ सालको आन्दोलनदेखि लिएर मदन भण्डारीको हत्या, दरबार हत्याकाण्ड, १० वर्षे जनयुद्ध, ६३ सालको आन्दोलन, मधेस आन्दोलन हुँदै आजको जेन्जी आन्दोलनसम्म—यी सबै आन्दोलनहरू एउटै पुस्ताको जीवनकालमै किन परे?
मेरो पुस्ता देशभक्त थियो। आन्दोलन राजनीतिक स्वतन्त्रता, उन्नत संविधान र द्वन्द्व अन्त्यका लागि थियो। तर परिणामस्वरूप न त आर्थिक समृद्धि आयो, न औद्योगिक विकास भयो। उल्टै बाँकी रहेका उद्योग पनि नवउदारवादी नीतिले समाप्त गरिदियो।
१. नवउदारवादी औद्योगिक विनासको चंगुल
हाम्रो अर्थतन्त्र अहिले ‘थारो गाई’ जस्तो भएको छ। जसले घाँस खाइरहन्छ, मोटाउँछ, तर ब्याउँदैन। दूध आउने कुरै भएन। प्रतिव्यक्ति आय १५०० डलर पुगेर अर्थतन्त्र सुन्निएको त छ, तर यसले वस्तु उत्पादन गरेर मुनाफा कमाउँदैन। नतिजास्वरूप, रोजगारी निर्माण हुँदैन। देशमा औद्योगिक उत्पादनमा लाग्नुपर्ने युवा श्रम शक्ति विदेश निर्यात भइरहेको छ। हामी विदेशी सहायताको दुर्व्यसनमा फसेका छौँ।
२. भू-राजनीतिक आर्थिक चंगुल
चीन र भारतबीच अर्बौँ डलरको व्यापार छ, तर नेपालले यो भू-राजनीतिबाट लाभ लिन सकेको छैन। भारतले नेपालमा चिनियाँ लगानी रहेका आयोजनाको विद्युत किन्दैन, र हामीसँग भारतसँग दह्रोसँग विमर्श गर्ने सामर्थ्य छैन। अन्तर्राष्ट्रिय सम्बन्ध बुझेका व्यक्ति परराष्ट्र मन्त्री बन्न पाउँदैनन्। हामी विदेशीबाट शोषित युवाले पठाएको रेमिटेन्सबाट चामल किनेर खाइरहेका छौँ। यो जटिलता अन्त्य गर्ने कुनै छाँटकाँट छैन।
३. रेमिटेन्स र उपभोक्तावादको चंगुल
नेपाल अहिले युवाहरूको देश हो, तर हामी यो जनसांख्यिक लाभ लिने समय गुमाउँदैछौँ। जेन्जी आन्दोलनकारीहरू ‘औद्योगिकीकरणको नीति ल्याऊ’ वा ‘डिजिटल क्रान्तिको वातावरण बनाऊ’ भन्दैनन्, बरु मन्त्री पदको माग गर्छन्। रेमिटेन्सले घर चलाउने र जग्गा बाँझो राख्ने प्रवृत्ति बढेको छ। गुद्द्वार पुछ्ने कागजदेखि जनैसम्म विदेशबाट आउँछ। कोही उत्पादनको बारेमा सोच्दैन, विदेशमा कमाएर देशमा भात मात्र खान्छ।
सम्भावना हुँदाहुँदै पनि दिशाहीन राजनीति
राष्ट्र बैंकसँग करिब २५ खर्ब बराबरको विदेशी मुद्रा छ। बैंक तथा वित्तीय संस्थामा ६७ खर्बको तरलता छ। प्रत्येक तीन महिनामा ५ खर्ब ५० अर्ब रेमिटेन्स आउँछ। देशमा तत्काल लगानी गर्न १०० खर्बभन्दा बढी पूँजी मौज्दात छ। तर केही अर्बको विदेशी सहयोगका लागि देशको राजनीति दयनीय अवस्थामा पुगेको छ।
तर, हामी केही अर्बको विदेशी सहयोगका लागि राजनीतिमा दारा ङिच्याएर बसेका छौँ। यदि यो मौज्दात पुँजीलाई औद्योगिक लगानीमा रूपान्तरण गरिदिने हो भने हाम्रा युवाले खाडीमा पसिना बगाउनु पर्दैनथ्यो।
बुद्धिले जित्ने आन्दोलन गरौं
नयाँ र पुराना दलहरूबीच कसरी गठबन्धन बनाउने र को प्रधानमन्त्री बन्ने भन्ने खेल मात्र चलेको छ। तर, औद्योगिक लगानीबाट पुँजी निर्माण कसरी गर्ने, कृषकलाई बजार दिएर आयात कसरी घटाउने र समतामूलक समाज कसरी निर्माण गर्ने भन्ने बहस शून्य छ।
त्यसैले, अब पुराना मानिसलाई होइन, पुरानो सोचलाई निषेध गरौं। विदेशमा गएर दोस्रो दर्जाको नागरिक हुनुभन्दा नेपाल फर्किएर पहिलो दर्जाको नागरिक बन्ने वातावरण निर्माण गरौं। थुनेर र पिटेर जित्ने होइन, बुद्धिले जित्ने आन्दोलन गरौं। जमिन होइन, आफ्ना पूर्वाग्रहहरूलाई बाँझो छोडौं र उत्पादनको पूजा गरौं।
महात्मा गान्धीले गोली लागेपछि भनेका थिए— “हे राम!”। आज देशको यो अवस्था देखेर मलाई पनि भन्न मन लागेको छ— “हे राम!”
(यो लेख प्रा. डा. युवराज संग्रौलाको अभिव्यक्तिमा आधारित विचार सामग्री हो।)



