
२०७८ वैशाख २ गते बेलुका ११ बजे बाँकेको बैजनाथ गाउँपालिका– ६ को भित्री सडकमा भे १० प १७२७ नम्बरको मोटरसाइकललाई भे १ ख २४९१ नम्बरको मिनी ट्रकले ठक्कर दियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्जन बिकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।
प्रहरीले मिनी ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई नियन्त्रणमा लियो । अनुसन्धान पूरा गरेर केस अदालतसम्म पुग्यो । अदालतले सवारी ज्यान मुद्दामा ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई ३० दिन कैद र २ हजार जरिवाना गर्यो । सर्जन चढेको मोटरसाइकलका मालिक अहमद खाँले सफाइ पाए ।
एक हिसाबले यो केस यहीँ सकिएको थियो । तर, घटनाले त्यतिबेला नयाँ मोड लियो जब सर्जनकी श्रीमती भनिएकी २१ वर्षीया सपना मल्ल साढे २ करोड रुपैयाँ बीमा रकम दाबी गर्दै रिलायन्स लाइफ इन्स्योरेन्समा पुगिन् । सर्जनले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर– ६ का सञ्जीव अर्याल (एजेन्ट)मार्फत रिलायन्स लाइफमा साढे २ करोडको बीमा गराएका रहेछन् । प्रक्रिया पूरा भएपछि इन्स्योरेन्स कम्पनीले सपनालाई बीमाको रकम भुक्तानी गर्यो ।
भुक्तानीपछि रिलायन्स लाइफले पनि पुनर्बिमा कम्पनीसँग आफ्नो दाबी पेश गर्यो । पुनर्बीमा कम्पनीले कागजात अध्ययन गर्ने क्रममा सर्जन र सपनाको एक महिनाअगाडि मात्र विवाह दर्ता भएको खुल्यो ।
विवाहलगत्तै घटना भएको खुलेपछि पुनर्बीमा कम्पनीले सत्यतथ्य छानबिन गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएको थियो ।
शुक्रबार अपत्यारिलो संगठित अपराधमा संलग्नलाई प्रहरीले सार्वजनिक गर्यो । रोडा-बालुवा डिपोमा मजदुरी गर्ने विकको योजनावद्ध ढंगले एक करोड २० हजार मूल्य बराबरको सर्वाधिक जीवन बीमा र ३० हजारको म्यादी जीवन बीमा गराएर योजनावद्ध अपराध गरेको प्रहरीले सार्वजनिक गरेको हो।
स्थानीय बीमा एजेण्ट सरदार अहमद खाँले २०७७ साल फागुन २८ गते एक्सीडेण्टल डेथ बेनिफिट शीर्षक अन्तरगत पाँच वर्षका लागि बीमा गराई दिन्छन् र इच्छाएको व्यक्तिमा श्रीमती भनिएकी सपना मल्लको नाम राखिन्छ।

ब्यूरो प्रहरीका अनुसार, बीमा गरिएको करिब एक महिनापछि विकको सवारी दुर्घटनामा हत्या हुन्छ। मृतक विकको बीमा बापत प्राप्त भएको रकम श्रीमती भनिएकी सपना, घटनाका योजनाकार संजीव अर्याल, बीमा एजेण्ट खाँ, हत्यामा संलग्न मिनी बस चालक टोपबहादुर, अर्का सहयोगी दिपक केसी र संजीबकी साथी ललिता सापकोटा बाँडेर लिन्छन्।
अभियुक्त छजनालाई ब्यूरो प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। मुख्य योजनाकार ३१ वर्षीय संजीव अर्यालले नै बीमा एजेण्ट खाँमार्फत् सामान्य आयस्रोत भएका बिकको वार्षिक आम्दानी उच्च देखाइ पाँच लाख ४० हजारको बीमा गरिदिएका थिए। यसमा संजीवले नै लगानी गरेका हुन्।
अष्ट्रेलिया जाने तयारी गरिरहेकी कोहलपुरकी सपना मल्लसँग बिकको भेट गराई २०७७ साल चैत ९ गते कागजी विवाह समेत अभियुक्त अर्यालले नै गराई दिएका हुन्। फागुन २८ गते केटाको उमेर नपुगेपछि चैत ९ गते सारिएको थियो।
सोेही कागजका आधारमा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपनाको नाम राखिएको प्रहरीले जनाएको छ। अभियुक्त सपनाले कागजी बिहेपछि विकसँग भेटसमेत नभएको तर, मृत्युपछि बीमा रकम बुझ्न बोलाएको स्वीकारेकी छन्।
बिकको हत्या गर्न खाँ ले नै आफ्नो मोटरसाइकल चढ्न दिएका थिए। टोपबहादुर विपरित दिशाबाट मिनी बस लिएर लिएर दुर्घटना गराउन पुगेका थिए। पूर्वयोजना अनुसार टोपबहादुर बिकलाई ठक्कर दिइ घाइते बनाइ फरार भएको अनुसन्धानबाट खुलेको हो।
योजनावद्ध ढंगले हत्या गरेको चार महिना २०७८ साउन १४ गते दुई करोड ५० लाख रुपियाँ बीमा रकम झिकी संजीवले ८० लाख ३६ हजार, दिपेशले ६० लाख, सपनाकी आमा छविकुमारी खत्री १७ लाख ४६ हजार, सपनाले ८६ लाख ८९ हजार रुपियाँ बाँडेर लिएको पाइएको छ। ब्यूरो प्रहरीले मृतक विकको दाजु, सपनाकी आमा र इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमाथि पनि अनुसन्धान गर्ने जनाएको छ।
प्रहरीले मुख्य योजनाकार सञ्जीवलाई कोहलपुरबाट साउन ११ गते, सपना मल्ललाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ९ गते, तथा सरदार अहमद खाँ, टोपबहादुर क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई साउन ११ गते बाँकेका विभिन्न स्थानबाट पक्राउ गरेर आज (शुक्रवार) सार्वजनिक गरेको हो ।
अहिले उनीहरूलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।



