
श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताएका हुन।
विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र ढलेको उहाँको भनाइ छ । देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताए।
श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन भन्दै उहाँले अवस्था त्यो भन्दा निक्कै नै भयावह रहेको बताए ।
त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या यो भन्दा चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताए ।
श्रीलङ्का आर्थिक सङ्कटः अत्यावश्यक सवारीसाधनबाहेक अरूलाई पेट्रोल बेच्न प्रतिबन्ध
नराम्रो आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले अत्यावश्यकबाहेक अरू सवारीसाधनलाई पेट्रोल विक्री गर्न प्रतिबन्ध लगाएको छ।
आगामी दुई साता त्यहाँ बस, रेल र स्वास्थ्य एवं खाद्यसेवाका सवारीसाधनले मात्रै इन्धन हाल्न पाउनेछन्।
सहरी क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने त्यहाँका दुई करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न भनिएको छ।
इन्धन र खाद्यसामग्रीको आयातका लागि पैसा तिर्न पनि नसकिरहेको उक्त दक्षिण एशियाली राष्ट्र आर्थिक सङ्कटबाट उम्किन सङ्घर्षरत छ।
सन् १९७० को तेल सङ्कटका बेला अमेरिका र युरोपमा इन्धन विक्री नियन्त्रित गरिएयता इन्धन विक्री रोक्ने श्रीलङ्का पहिलो देश भएको इन्भेस्टेकका तेल र ग्यास अध्ययन प्रमुख नाथन पाइपरले बताएका छन्।
पाइपरले त्यो प्रतिबन्धले श्रीलङ्कामा ह्वात्तै बढेको इन्धनको मूल्य र कम भइरहेको विदेशी मुद्रा सञ्चितिको अवस्था देखाएको बताए।
कोभिड महामारीका कारण अर्थतन्त्रलाई परेका प्रभाव, ऊर्जाको बढ्दो मूल्य र कर छुट कार्यक्रमका कारण श्रीलङ्कासँग अत्यावश्यक वस्तुहरू आयात गर्ने विदेश मुद्राको ठूलो सङ्कट छ।
आर्थिक सङ्कटले त्यहाँ इन्धन, खाद्यसामग्री र औषधिको चरम अभाव भएको छ जसले गर्दा त्यहाँको दैनिक जीवनयापन खर्च अत्युच्च भएको छ।
एजेन्सी



