वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति

-


     जनहित न्युज    
     असार १४ गते २०७९


सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई २ करोड ४ लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । 

वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी १ सय ५ मध्ये ५६ घटनाको पूर्ण रूपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन् । 

यस आवमा आप्रवासी स्रोत केन्द्रमा १ सय १४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत ३ करोड ८३ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताइन् ।

परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने जानकारी दिने, ठगीमा परेका कामदारलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारलाई आवश्यक सहयोग गर्दै आएको छ । 

त्यसैगरी, वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यमा परी विक्षिप्त भएकालाई निःशुल्क सीप, तालिम, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको उपयुक्त उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको (सामी) परियोजना संयोजक रानाले जानकारी दिइन् । 

जिल्लाको व्यास, भानु, शुक्लागण्डकी र म्याग्देलाई कार्यक्षेत्र बनाउँदै आएको सामीले पछिल्लो समय भीमाद, बन्दीपुर र देवघाटलाई पनि समेटेको छ । गत आवमा १२ र यस आवमा सातजना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?