कृषि उद्यमको प्रबर्द्धन र बजारीकरणका लागि मोदीमा प्रदर्शनी मेला

-


     लक्ष्मण बिसी    
     मंसिर १२ गते २०७८


“स्थानीय उत्पादनले स्टलहरु भरिभराउ,आकर्षक सामाग्रीले सबैतिर झकिझकाउ । पालिकाभरीका हजारौं कृषकहरु एउटै ठाउँमा भेला भएका थिए । गाउँगाउँमा उत्पादन भएका उद्यमका सामाग्री र कृषि उपजले प्रदर्शनीमा स्टल भरीभराउ थिए । दर्शकहरु आफ्नै गाउँघरमा उत्पादित आकर्षित र अनौठा सामाग्रीहरुमा केन्द्रित भएका थिए । उद्योमीहरु किनबिचमै व्यस्त । कोहि कोदोको मम खादै थिए त कोहि स्थानीय कला सांस्कृतिकमा रमाउदै थिए ।

यो दृश्य थियो, पर्वतको मोदि गाउँपालिकाको । मोदि गाउँपालिकाले जिल्लामै नमुना रुपमा स्थानीय लघु उद्यम तथा कृषि उद्यमको विकास, प्रबर्द्धन र बजारीकरण गर्न र स्थानीय उद्योमीलाई प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले पालिकामा पहिलोपटक प्रदर्शनी मेला आयोजना गरेको छ ।
सातौं उद्योग दिवस-२०७८ को अवसरमा वडा नं.२ पातीचौरमा ३ दिने लघु,घरेलु कृषि पशु उद्यम प्रदशनी कार्यक्रम यहीँ मंसिर ९ गते संचालन भै ११ गते सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेलले पालिकाको विकास र समृद्धिका लागि उद्यम क्षेत्रमा देशभरकै स्थानीय सरकारहरुले भन्दा नमुना कार्यक्रम संचालन गरि परिणाममुखी कार्य गरेको बताए ।
शिक्षा,स्वास्थ्य, पुर्वधारसँगै कृषि,पर्यटनलाई जोड दिदै स्थानीय स्रोत साधनको प्रयोग गरि उद्यमशिलताका कार्यक्रमहरु संचालन गरेको उनले बताए । तिनै तहका सरकार र कर्मचारीहरुसँग सकारात्मक समन्वय सहकार्य गर्दै जनमुखी कार्यक्रम संचालन गरेको पौडेलले दाबी गरे । उनले भने “ हाम्रो कार्यकाल सकिनै लाग्यो, चुनावताका जनतालाई बोलेका कुरा पूरा गर्दै छौं,हाम्रा गतिविधि बाहिर त्यति प्रचार नभएपनि हामी परिणाममुखी काम गरेका छौँ । “लघु,घरेलु उद्योम कृषि र पशु उद्यमको प्रबर्द्धन र बजारीकरणमा उक्त कार्यक्रमले टेवा पुर्‍याउने पौडेलको भनाइ थियो । त्यस्तै कार्यक्रम बोल्दै पालिकाकी उपाध्यक्ष तथा उक्त कार्यक्रमका संयोजक सेती महतले सबैसँग सहकार्य गर्दै योजनाबद्ध तरिकाले दिगो र प्रभावकारी कार्यमा जोड दिएको बताइन । आफू पनि एक उद्योमी भएको र सबैलाई उद्यममा लग्न प्रोत्साहन गर्दै उद्यमशीलको विकास र प्रबर्द्धनका लागि नमुना र अनुकरणीय कार्य गर्दै आइरहेको बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योमीहरुलाई प्रोत्साहन, बजारीकरण र प्रचारप्रसार गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । स्थानीय उत्पादन, कृषि,पर्यटन, कला र सांस्कृतिकको प्रबर्द्धनमा उक्त कार्यक्रमले जोड दिएको उनले बताए । प्रदर्शनीमा १५ वटा स्टलमा पालिका भित्रका ८ वटै वडाहरुमा उत्पादित बस्तुहरुलाई समावेश गरिएको छ । पालिकाभित्रका लघु उद्योगमा उत्पादित अल्लोका सामनहरु,ढाका तथा उनीका होजियारी सामाग्रीहरु,नेपाली हाते कागज,कृषि उपज,सिस्नो पाउडर,लप्सीका परिकार, होम स्टेका परिकारहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रम उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पर्वतका सदस्य नन्दलाल सुवेदी, मोदी गाउँपालिका वडा १ का वडा अध्यक्ष गौ प्रसाद गुरुङ, वडा नं ७ का वडा अध्यक्ष बसन्त बहादुर गुरुङ, उद्यम विकास शाखा प्रमुख सीता शर्मा लगायतले बोलेका थिए ।
पालिकाले भव्य कार्यक्रमको आयोजना गरि कृषकहरुले उत्पादन गरेका कृषि उपज प्रदर्शन गर्न पाउदा खुसी भएका छन् । मोदीमा मात्र उत्पादन हुने नेपाली हातेकागज प्रदर्शनीमा दर्शकमाझ देखाउन पाउदा प्रचारप्रसारसँगै यसको प्रबर्द्धन र बजारीकरणमा सहज भएको उद्योग संचालक तुलाराम दर्जीले बताए । आफुले उत्पादन गरेका कृषि उपज प्रदर्शनीमा राखेर बिक्रि वितरण र प्रचारप्रसार गर्न पाउदा खुशी लागेको वडा नं.८ चित्रेमा पन्चासे लप्सी प्रशोधन उद्योग संचालन गरेका गिताराम शर्माले बताए । पालिकाले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम संचालन गरेमा आफुहरुले उत्पादन गरेका सामाग्री बजारीकरणमा सहज हुने बताए । ३ दिनसम्म संचालन भएको कार्यक्रमको संचालन संचारकर्मी तथा कलाकार कृष्ण अखेलीले गरेका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहेको थियो ।

मोदीमा कृषिका २२ वटा कार्यक्रम संचालन
कृषि शाखा प्रमुख कृषि अधिकृत मनिषा महतले मोदी गाउँपालिकामा कृषिको क्षेत्रमा कृषकमुखि नवीनतम कार्यक्रम संचालन भएको बताइन् । पालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषकहरूलाई आयआर्जनमा जोड्न विभिन्न किसिमका २२ वटा कृषि कार्यक्रम संचालन गरिएको उनले बताइन् । महतले भनिन् “कृषकहरुलाई उत्पादनमा प्रोत्साहन गर्न अनुदान तथा औजार वितरण गर्दै आएका छौँ । “कृषिमा आधुनिकीकरण, प्रबिधिकरण, विविधीकरण र बजारीकरणमा जोड दिएका छौँ ।“ रैथाने बालीको संरक्षण, मोदी नमुना प्राङरिक कृषि गाउँ, साना सिचाइ मर्मत लगायतका कार्यक्रम संचालन भएको बताइन् । बिद्यार्थीहरुलाई कृषि पेसाको महत्त्व बताउन देशमै नमुना कार्यक्रमका रुपमा पालिका भित्रका ११ वटा माध्यामिक बिद्यालयहरुमा कृषि कार्यक्रम संचालन गरिने समेत कृषि अधिकृत महतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?